‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

रिपोर्ट नेपाल | 2018 Jun 17 | 11:57 am 3163

चितवन,असार ३ : नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् ।

वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ ।

यही असार १३ देखि १५ गतेभित्र चीनमा रहेको साइटिस टोली नेपाल आउँदैछ । चिनियाँ अधिकारीले खोर बनाउन भनेपछि गैँडालाई राखेर पठाइने चार थान खोर बनाउने काम शुरु गरिएको र एक हप्ताभित्र खोर बनिसक्ने बताइएको छ ।
संरक्षण कोषको परिसरमा दुई जोडी गैँडा छन् । अर्को एक जोडीको नामकरण गरिएको छैन । अर्को जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाइने तयारी छ ।

ढकालले चिनियाँ टोली समयमा आउन नसक्दा प्रधानमन्त्रीसँगै गैँडा पठाउन नसकिएको बताए। दुई जोडी गैँडा मानिससँग घुलमिल गर्न थालेको र दिउँसो पालैपालो खुला खोरमा राख्न थालिएको छ ।

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जले गत वैशाख दोस्रो साता तीन गैँडा नियन्त्रणमा लिएको थियो भने एउटा गैँडा बाढीले बगाउँदा यसअघि नै उद्धार गरी राखिएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.