काठमाडौं, साउन २ । जीवनभर समाजसेवा र दिन दुःखीको भलो चिताउदै आएकी वरिष्ठ समाजसेवी भद्रकुमारी घले द्वारा संचालित भद्र कुमारी सेवा सदनको संरचना माथि काठमाडौं महानगरपालिकाले डोजर चलाउने भएको छ ।
करोडौ रुपैयामा निर्माण भाएका संरचनामा विद्यालय देखि विभिन्न रचनात्मक कार्य गर्ने सामाजिक संस्थाहरु राखिएका छन्। केहि सटर भाडामा लगाइए पनि त्यहाँबाट हुने आम्दानी पनि सामाजिक कार्यमै खर्च गरिन्छ। २०२२ साल देखि भोगचलन गरीएको पाँच रोपनी जग्गामा गरीब र निम्न आय भएका परिवारका सन्तानले शिक्षा आर्जन गरी रहेका छन् । महानगर प्रहरीका प्रमुख राजु पाण्डेले फिल्मी शैलीमा आएर तिन दिन भित्र सबै नहटाइए डोजर चल्ने भनेर दिएको संवाद हेर्न र सुन्न लायकको थियो । प्रमुख पाण्डेले उक्त स्थानमा देखाएको रवाफ कतै फिल्म सुटीङ गर्न लागिएको त होइन ? यदि होइन भने ९३ बर्षकी हजुरआमा सरहको एक कर्मठ समाजसेवी घलेको निवासमा गएर सम्झाई बुझाई पनि त गर्न सकिन्थ्यो नि ।
जसरी वरिष्ठ समाजसेवी भद्रकुमारी घलेले १६ रोपनी भोगचलन गरेको भन्ने आरोप छ त्यसलाई घलेले ठाडै अस्विकार गरेकी छन् । भद्र कुमारी सेवा सदनले वढीमा साढे पाँच रोपनी भोगचलन गरेको र त्यसको कागजात सुरक्षित रहेको घलेको भनाई रहेको छ । मेयर वालेन शाहलाई सबै कुरा वुझाउन पटक पटक समय माग्दा समय नपाएको घलेको दुखेसो छ । ९३ वर्षको वृद्ध शरिर लिएर उनको कार्यकक्षसम्म पुग्न कठिन हुन्छ यदि पुगि हाले पनि कुरेर वस्न नसक्ने कुरा पनि घलेले बताइन ।
सामाजिक संघ संस्था राज्यले चाँहादा वैध ठाँउमा निर्माण भए पनि लिन सक्छ तर भद्र कुमारी सेवा सदन ६२ वर्ष देखि संन्चालनमा आएको संस्थाको संरचना भत्काउनु भन्दा संरक्षण गरेर महानगरको नाममा ल्याउदा बुद्धीमती कार्य हुन्छ । असहाय तथा गरीबका छोराछोरीले शिक्षा आर्जन गरेको संस्था ढाल्नु भन्दा त्यसलाई अझ बढी व्यवस्थापन गर्ने हो भने बालेन जनताको नजरमा अझबढी वाहवाही हुन्छन्।
वालेनले भत्काएका केहि संरचना सय प्रतिशत सहि छन् तर यस्ता सामाजिक संस्थाका संरचना भत्काउदा त्यसको सूचना गलत जाने कुरालाई पनि बुझ्न जरुरी छ । ९३ वर्षिय भद्रकुमारी घलेले चुनौती दिदै भनेकी छन् यदि डोजर लगाइयो भने आफू प्रतिकारमा उत्रने बताएकी छन् । झण्डै दुई सय विद्यार्थी र त्यही हाराहारीका नागरीक माथि डोजर चलाएर मात्र संरचना भत्काउन दिने घलेको भनाई रहेको छ।