भगवती लेमिनेट्स कर छली प्रकरण : डिलरहरू धर्मसंकटमा

| 2022 Mar 01 | 07:45 am 1421

काठमाडौं, फागुन १७ः भगवती लेमिनेट्सले कर छली गरी आफू पानीमाथिको ओभानो बन्न खोज्दा यसका डिलरहरू धर्मसंकटमा परेका छन् । विभिन्न समयमा नेपाल समाचारपत्रले शृंखलाबद्ध रूपमा समाचार प्रकाशित गरेपछि डिलरहरुले आफू भगवती लेमिनेट्सको फन्दामा परेकाले आफूलाई बचाइदिन आग्रह गरेका थिए । उनीहरुले आफूहरु जस्तोसुकै कारबाही पनि भोग्न तयार भएको बताएका थिए । तर, भगवती लेमिनेट्सले घुमाउरो पारामा डिलरहरूलाई चक्रव्युहमा फसाएको देखिन्छ ।

यसका डिलरहरुले भगवती लेमिनेट्सलाई कारोबार लुकाउन सहयोग गर्दा आफू पनि कर लुकाउन पुगेको पत्तै पाएनन् । व्यवसायमा केवल नाफा मात्र देखेका डिलरहरुले कर छलीमा सहयोग गर्दा ५ वर्षपछि सम्म पनि सम्पत्ति शुद्धीकरणले तान्न सक्ने र कर तिर्नुपरे व्यापार व्यवसाय नै चौपट हुने तथा त्यसमा पनि जरिवाना लाग्न सक्नेतिर अनुमान नै लगाउन सकेनन् । त्यसैले भगवती लेमिनेट्सका कारण डिलरहरु पनि फस्ने निश्चितजस्तै भएको छ । भगवतीका डिलरहरु धर्मसंकटमा पर्ने भएका छन् ।

यसै विषयलाई लिएर राजस्व अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरेको थियो । तर, हालसम्म पनि उनीहरूले कुनै विवरण बुझाएका छैनन् । विवरण बुझाउनुको साटो केही सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्र धाइरहेको बुझिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.