काठमाडौं, असार १५ः सोमबार बिहान भक्तपुरमा एक जना हत्या भएको छ। हत्या हुनेमा अन्दाजी ४५ वर्षीय (जडिबुटी) भनिने कृष्ण तामाङ रहेका छन् ।
उनी भक्तपुर नगरपालिका वडा नम्बर ४ गहिटीस्थित सार्वजनिक पाटीमा मृत अवस्थामा फेला परेका थिए।
हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली तीनपाटन गाउँपालिका घर भई हाल सोही गहिटीमा बस्दै आएका ३० वर्षीय ईन्द्रबहादुर तामाङ रहेका छन् ।
प्रहरी घटनास्थल पुग्दा उनको टाउको, निधार र चिउडोमा चोट लागेको थियो ।
उनीहरूबीच आपसी विवाद हुँदा तामाङले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।