भक्तपुर, कात्तिक १७ : चाडवाडको समयमा अत्यधिक खपत हुने विभिन्न परिकारका मिठाईमा अखाद्यवस्तु मिसावट गरेको आशंकामा विभिन्न मिठाई पसलको छड्के चेकजाँच गरिएको छ । रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार भक्तपुर नगरपालिका अनुगमन समितिले नगरपालिका भित्रका विभिन्न मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं ३ नम्बरका वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरिएको थियो ।
अनुगमनमा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको रङग प्रयोग गरेको, बढी रङ्ग राखेर पकाउने गरेको भेटिएको थियो । अधिकांश पसलमा तेल र रङ्ग भएको मिठाई, बासी मिठाई र म्याद नाघेका सामान ठूलो मात्रामा जफत गरी बाराही स्थानमा ल्याएर नष्ट गरिएको वडाका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिएका छन् ।
समितिले च्यामासिंहस्थित प्रकाश बासुकलाको मिठाई पसल, आरएम खाजा घर एण्ड मिठाई पसल, न्यू लासिवा मिठाई भण्डार, नवदुर्गा एण्ड चाट हाउस, लक्ष्मी स्वीट एण्ड चाट प्यालेसलगायतका मिठाई पसलमा अनुगमन गरी खान अयोग्य हुने मिठाई जफत गरी नष्ट गरिएको थियो ।
यस्तै नवशक्ति इन्टरप्राइजेजबाट म्याद नाघेको अरुण केशरी खाद्य रङ्ग १३० बट्टा नष्ट गरिएको थियो । कतिपय ठिठाइ पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको थियो । गुणस्तरहीन तेलमा पकाएको मिठाई बेचबिखन गरेमा पाँच वर्ष जेल सजाय र ५० हजारसमेत जरिवाना हुने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले बताए ।