भक्तपुरका अधिकांश मासु पसल अवैध रूपमा सञ्चालित

| 2018 Jul 01 | 02:10 pm 3666

भक्तपुर शहरका च्याम्हासिंहदेखि जगातीसम्मका आठवटा मासुपसलमा भक्तपुर नगरपालिकाले अनुगमनमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको भेटिएको नगरपालिकाले खुलासा गरेको छ ।

बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा अनुगमनमा निस्केको टोलीले गरेको अनुगमनमा अधिकांश मासु पसलमा खसी, कुखुरा र राँगाको मासु छुट्टाछट्टै नराखेको, मासु यत्रतत्र छरिएको, झिंगा भन्किएको, ढक तराजु दुरुस्त नराखिएको, मासुसँगै दाना राखिएको, मूल्य सूची नराखिएको र अव्यवस्थित देखिएको बताइएको छ ।

अनुगमन समितिका सदस्य हरिराम सुवालले दिएको जानकारी अनुसार अनुगमनका क्रममा समितिले प्रदीप शाहीको मासुपसल, न्यू भक्तपुर कोल्ड स्टोर, एसएण्ड एसफ्रेस मिट शप, भक्तपुर चिकेन हाउस, केजी कोल्ड स्टोरलाई तीन दिनभित्र पसल दर्ता गर्न र ख्वप कोल्ड स्टोर तथा न्यू माँ भगवती फ्रेस मिट हाउसलाई नवीकरण गर्न निर्देशन दिएको छ ।

समितिले फुटपाथमा मासुजन्य सामान नराख्न, मासु जालीले छोप्न, सेतो एप्रोन लगाउन, मूल्यसूची राख्न, ढक तराजु नापतौल कार्यालयमा नवीकरण गराउन, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न, मासु छट्टा छट्टै राखेर बिक्री गर्न निर्देशन दिएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.