बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 24 | 03:54 pm 2796

बैतडी, मंसिर ९ः मंगलबार बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीय कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का७५ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० बर्षीय पार्वती देवी चन्द, सोही ठाउँका ७२ बर्षीय पार्वती देवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावड रहेका छन् ।

बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्लाप्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । तीव्र गतिमा रहेका जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

जिप सडकबाट करीब एक सय मिटर तल खसेको छ । दुर्घटना बित्तिकै फरार रहेका जिप चालक गोपाल कार्कीको खोजी भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सनबुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सन धारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.