बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 28 | 02:52 pm 2515

काठमाडौं, साउन १३ः बैकिंङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई ब्यूराेले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट साविक थानापति गाविस वडा नं ९ घर भई हाल ललितपुर महानगरपालिका वडा नं १४, तिखिदेवल बस्ने ४३ वर्षीय पारस लोहनी रहेका छन् ।

आकाश लामिछाने समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लोहनी भएको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैंया जरिवाना हुने ठहर भएको थियो ।

उल्लेखित सजाय वेरुजू रही फरार रहेका उनलाई २०७७ साउन १२ गते मातातिर्थबाट लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको हो ।

अभियुक्त पारस लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवाला आकाश लोहनी समेतका अन्य दुई जनालाई झुक्याएर बिभिन्न मितिमा बिभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट अभियुक्तको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने जनाएको छ ।

उक्त फैसला कार्यान्वयनको लागि आज मंगलबार २०७७ साउन १३ गते सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआइबीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.