काठमाडाैं, असार २२ः बैंकिङ्ग कसूर मुद्दाका फरार एक अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं साविक चपली भद्रकाली गाविस वडा नं.३ हाल बुढानिलकण्ठ नगरपालिका वडा नं.७ बस्ने वर्ष ५९ वर्षीय लाक्पा लामा रहेका छन् ।
विकाश थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लाक्पा लामा भएको बैंकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७७।१०।०९ गतेको फैसलाले उनलाई ७ (सात) दिन कैद र १५ (पन्ध्र) लाख जरिवाना हुने ठहर भएको र उक्त सजाय वेरुजू रही फरार रहेकोले अभियुक्तलाई यस कार्यालय (CIB) बाट खटीएको टोलिले मिति२०७८/०३/२२ गते चक्रपथ काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको बताइएको छ।
२०७५ सालमा प्रतिवादी लाक्पा लामाले व्यापार व्यवसाय गर्नको लागि रकम लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी जनता बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पिडींत जाहेरवालालाई १५ लाख रुपैंया बराबरको चेक काटी दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको जानकारी गराईएकाे छ।