बेलायतः लन्डनको तीन दिने औपचारिक भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी ओली र बेलायती राजकुमार ह्यारीबीच भेटघाट तय भएको छ । प्रिन्स ह्यारीसँग जुन ११ मंगलबार केन्जिङटन प्यालेसमा भेटवार्ता गर्ने तय भएको लन्डनस्थित दूतावास स्रोतले जनाएको हो ।
करिब दुई वर्षअघि नेपाल भ्रमणसमेत गरेका ब्रिटिस राजकुमार ह्यारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउँदै आएका थिए। अफगानिस्तानमा गोर्खा सैनिकहरुसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गर्ने गरेका छन्। भूकम्प गएको झण्डै एक वर्षपछि नेपाल पुगेका ह्यारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोर्खाको एक गाउँमा गाउँलेहरु सँगै ढुंगा माटो बोकेर एक स्थानीय विद्यालयको पुनर्निर्माणमा सघाएका थिए।
त्यसैगरी प्रधानमन्त्री ओली र बेलायती समकक्षी टेरेजा मेबीच ११ तारिखकै दिन दिउँसो भेटवार्ताको कार्यक्रम छ।
नेपालका प्रधानमन्त्री १७ वर्षपछि बेलायत आउने भएपछि यहाँको नेपाली समुदाय उत्साहित र आशावादी छन् । प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा नेपाली डायस्पोरालाई समेत सम्बोधन गर्ने भएकाले उनीहरु आफ्ना कुरा राख्न आतुर छन् । आफ्ना प्रधानमन्त्रीसँग एनआरएनएले दोहोरो नागरिकता र भूपू गोर्खाहरुले समान पेन्सन मुद्दा उठाउने बताएका छन् ।
बेलायती प्रधानमन्त्री मेको निमन्त्रणामा प्रधानमन्त्री ओली १० जुन सोमबार लन्डन पुग्ने कार्यक्रम रहेकाे छ । मेले गत शुक्रबार दलको नेताबाट राजीनामा दिइसकेकाले उनी यतिखेर कामचलाउ प्रधानमन्त्रीका रुपमा छिन् ।
बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय ३ वर्ष पुगिसकेको छ । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सघाउने बताउँछन् लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्यप्रसाद सुवेदी ।