बेँसी झरेका गुर्जाली हिउँले गर्दा बाटोबीचमै अलपत्र

रिपोर्ट नेपाल | 2019 Jan 29 | 01:46 pm 1915

म्याग्दी, माघ १५ : विभिन्न कामका कारणले लेकबाट एक साताअघि बेँसी झरेका धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाहरु केहि दिन यता परेको बाक्लो हिमपातका कारण हिड्नका लागि गोरेटो बाटोसमेत हिउँले पुरिएपछि उनीहरु घर फर्कन नसक्दा बीच बाटोमा नै अलपत्र परेका छन् ।

त्यस क्षेत्रको लुलान र गुर्जाका सिमानामा पर्ने देउरालीको करीब तीन किलोमिटर क्षेत्रमा चार फिटसम्म हिउँ जमेपछि बाटो अवरुद्ध भएको हो । घना जङ्गल रहेको सो क्षेत्रमा बाटो नपाएपछि २० भन्दा बढी गुर्जावासी मुना र लुलानमा नै बस्नुपरेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झकप्रसाद छन्त्यालले बताए ।

बीच बाटोमा अलपत्र परेका व्यक्तिले गाउँमा रहेका आफन्तसँग समेत सम्पर्क गर्न नसकेका अध्यक्ष छन्त्यालले जानकारी दिए । भारी हिमपातका कारण सञ्चारका माध्यमहरु अवरुद्ध भएपछि गुर्जामा के भइरहेको छ भन्ने कसैलाई पनि जानकारी छैन ।

बीच बाटोमा भरिया र खच्चडसमेत अलपत्र परेका छन् । खाद्यान्नलगायतका आवश्यक सामान खच्चडमार्फत ढुवानी हुने गुर्जामा एक सातादेखि कुनै पनि सामान पुग्न सकेको छैन । त्यहाँ खाद्यान्नको समेत अभाव हुन थालेको अनुमान गरिएको छ ।

सो क्षेत्रमा चरन क्षेत्रसमेत हिउँले पुरिएकाले पशु चौपाया र भेडाबाख्रा भोकै छन् । बाटोमा चट्टानजस्तो गरी हिउँ जमेको छ । आज १० बजेदेखि घाम लागेको छ । आज दिनभरि घाम लाग्यो भने हिउँलाई काटेर आपत्कालीन ट्याक बनाएर बाटो खुला गर्ने प्रयास गरिने छन्त्यालले जानकारी दिए ।

हिमपातकै कारण कतिपय स्थानमा शौचालयसम्म जान नसकेका बुझिएको छ । हिमपातका कारण गुर्जावासीको जनजीवन अस्तव्यस्त बनेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए । चिसोका कारण बालबालिका र वृद्धवृद्धाको दिनचर्या अत्यन्तै कष्टपूर्ण बनेको र पशु चौपायासमेत भोकै गोठभित्र थुनिन बाध्य भएका छन् ।

हिमपातका कारण विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएपछि गुर्जावासी अतास्यिएका छन् । हिमपातले स्थानीय इङ्गले खोला लघुजलविद्युत्को पोल ढालेसँगै सञ्चार तथा विद्युत् सेवा ठप्प भएको छ । विद्युत् तथा सञ्चार सेवा ठप्प भएसँगै स्थानीयले अँध्यारोमा रात कटाउन बाध्य भएका वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.