बुहारी, ज्वाइँलाई प्राथमिकतामा राख्ने कि सार्वभौमिकता ?

रिपोर्ट नेपाल | 2019 Apr 05 | 10:55 am 1962

  • विन्दुकान्त घिमिरे

नागरिकतासम्बन्धी विधेयक संसद्ले अघि बढाउँदै गर्दा एउटा विषयमा ठूलो विवाद उत्पन्न भएको छ । त्यो हो– ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई जुन अधिकार दिइएको छ, त्यो अधिकार नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई दिने कि नदिने ?’ लोकतन्त्रमा लैंगिक आधारमा कसैलाई पनि भेदभाव गर्न पाइँदैन । नेपालको संविधानमा पनि लैंगिक आधारमा कसैलाई पनि भेदभाव गर्न नपाइने प्रावधान स्पष्ट रूपमा राखिएको छ । तर कानुन बनाउने सन्दर्भमा भने विवाद उत्पन्न भएको छ ।

लोकतन्त्रमा महिलालाई नागरिकताको एउटा हक र पुरुषलाई अर्को हक हुन्न । तर अहिले लोकतन्त्रको यो प्रावधान कार्यान्वयनका सन्दर्भमा विवाद उत्पन्न भएको छ । दुवै पक्षका तर्कहरूमा तुक भयो भने विवाद उत्पन्न हुन्छ । नागरिकताको मुद्दामा पनि दुवै पक्षका तर्कमा तुक देखिन्छन् । दुवैथरी तर्कहरू जायज छन् । दुवैथरी तर्कहरू जायज भए भने विवाद त हुन्छ नै, विवाद सँगसँगै द्वन्द्वसमेत उत्पन्न हुन्छ । छोराले भित्र्याएकी बुहारीले तत्काल अंगीकृत नागरिकता पाउने र उनीहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउने, तर छोरीले भित्र्याएको ज्वाइँले तत्काल अंगीकृत नागरिकतासमेत नपाउने र उनीहरूका सन्तानले पनि अंगीकृत नागरिक भएरै चित्त बुझाउनुपर्ने प्रावधान लोकतान्त्रिक होइन । विभेदपूर्ण प्रावधान हो । मुलुकमा संविधान तथा कानुनद्वारा नै महिला र पुरुषबीच विभेद गरिएको प्रमाण हो यो । लोकतन्त्र र समान अधिकारको मुद्दाबाहेक दायाँबायाँ नहेर्ने हो भने । बुहारी तथा उसका सन्ततीको जति अधिकार हुन्छ, ज्वाइँ तथा उसका सन्ततीको पनि त्यति नै अधिकार हुन्छ । यो मुद्दामा बहस गर्नु नै बेकार छ ।

पहाडियाहरू विस्थापित भएकोमा अहिले पनि रैथाने मधेसीहरू पछुताइरहेका छन् । मधेसी घनाबस्ती भएका क्षेत्रमा पनि पहाडियाहरूले चुनाव जित्ने गरेका छन् । उदाहरणका लागि जलेश्वर नगरपालिकाको एउटा वडामा पहाडियाको घर एउटा मात्रै छ । उही घरको मान्छेले स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्ष पदमा चुनाव जितेको छ । जनकपुरमा बसोबास गर्ने पहाडियालाई लखेटने अभियानमा नेपाली नागरिकता प्राप्त गरेका भारतीय नै थिए भन्ने कुरा यो उदाहरणले पुष्टि गर्दैन र ?

तर नेपालको धरातलीय यथार्थतालाई आधार मान्ने हो भने बुहारी तथा उसका सन्तानलाई जतिकै अधिकार ज्वाइँ तथा उसका सन्तानलाई प्रदान गर्ने हो भने सार्वभौमिकता जोगाउन सहज हुँदैन । सत्य कुरा के हो भने नेपालमा जति पुरुषको विदेशी महिलासँग विवाह हुन्छ त्यति नै महिलाको विदेशी पुरुषसँग विवाह हुन्छ । यो संख्या वार्षिक कति छ त ? भन्ने एकिन तथ्यांक छैन । तर पूर्व, पश्चिम र दक्षिणतर्फका सीमा क्षेत्रहरूमा वैवाहिक सम्बन्धको अन्तरदेशीय सीमा छैन । विगतमा उत्तरतर्फ पनि तिब्बत र नेपालबीच वैवाहिक सम्बन्ध उल्लेख्य थियो, तर चीनले तिब्बत लिएपछि धेरै नै घटेको छ । तर भारतसँग भने घट्दो होइन बढ्दो छ ।

वार्षिक करिब २५ हजार भारतीय महिला बुहारीको रूपमा नेपाल भित्रिने र यति नै संख्यामा नेपाली महिला बुहारीको रूपमा भारत भित्रिने अनुमानित तथ्यांक छ । पत्रकार अमित ढकालले सेतोपाटी अनलाइनमा उल्लेख गरेअनुसार २०७५ असारसम्ममा वैवाहिक अंगीकृत नेपाली नागरिकता लिने महिलाको संख्या चार लाख नाघेको छ । सायद यो चार लाख संख्या २०४० सालयताको हुनुपर्छ । किनकि त्यसभन्दा अघि सरकारी जागिर खानुपर्नेले बाहेक नागरिकताको प्रमाणपत्र लिनुपर्ने अनिवार्यता थिएन । यो तथ्यांकलाई आधार मान्ने हो भने २०४० सालयता विदेशी पुरुषसँग विवाह हुने महिलाको संख्या पनि चार लाखभन्दा बढी नै हुनु पर्छ । यी चार लाखका छोराछोरी तथा नातिनातिना तथा पनाति पनातिना जोड्ने हो भने ३० लाख नाघिससकेको अनुमान लगाउन सकिन्छ । यदि बुहारीका सन्ततीलाई जस्तै ज्वाइँका सन्ततीलाई पनि नागरिकताको समान अधिकार प्रदान गर्ने कानुनी व्यवस्था भएको भए अहिलेसम्म नेपालमा भारतीयहरूको बहुमत हुन्थ्यो कि हुँदैनथ्यो ?

नेपालमा आएर बसोबास गर्ने ज्वाइँ तथा उसका सन्ततीलाई मात्रै बुहारी तथा उसका सन्तानलाई सरह नागरिकता दिन सकिने, तर आफ्नै देशमा बसोबास गर्ने ज्वाइँ तथा उसका सन्ततीलाई नागरिकता दिन नसकिने तर्कहरू पनि आइरहेका छन् । सरसर्ती हेर्दा यी तर्कहरू बेतुकका लाग्दैनन् । यही प्रावधान राखे के फरक पर्ला त ? भन्ने प्रश्न नाजायज होइन । तर अन्य मुलुकमा बस्नेहरूका निम्ति भिसा तथा पासपोर्ट सिस्टम भएकाले नियमन गर्न सकिएला, भारतमा बस्नेहरूको नियमन कसरी गर्ने ? नेपाली महिलासँग विवाह भएको भारतीय पुरुष आफ्नै देशमा बसिरहेको छ कि नेपालमा बसोबास गरिरहेको छ ? भन्ने कुरा कसरी थाहा हुन्छ । आफ्नै देशमा बसोबास गरे पनि नेपालमा बसोबास गरेको रेकर्ड राख्न गाह्रो छैन । स्थायी रूपमा नेपालमा बसोबास गरेको र अस्थायी रूपमा कहिलेकाहीँ भारत जाने गरेको रेकर्ड राख्न उसलाई के ले छेक्छ ?

झट्ट हेर्दा आमाको नाममा नागरिकता दिने प्रावधानका विषयमा विवाद गर्नु भनेको पितृसत्ताको चरमोत्कर्ष हो कि जस्तो देखिन्छ । शासन व्यवस्थाको नाम लोकतान्त्रिक भन्ने, तर आमाको नाममा नागरिकता नदिने कानुनी व्यवस्था हास्यास्पद जस्तो देखिन्छ । तर, कुनै पनि कानुन धरातलीय यथार्थताभन्दा माथि हुँदैनन् । नेपालको धरातलीय यथार्थता यस्तो छ कि, डेढ अर्ब जनसंख्या भएको विशाल मुलुक भारतसँग तीनतिर खुला सिमाना जोडिएको छ । भाषा, धर्म, संस्कृति समान छ । वैवाहिक सम्बन्धमा पनि कुनै सीमांकन छैन । नेपालकी छोरी भारतका छोरासँग र भारतकी छोरी नेपालका छोरासँग विवाह हुने परम्परा छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी केटीले सजिलै नागरिकता प्रमाणपत्र पाउने व्यवस्था धेरै पहिलेदेखि थियो । नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले पनि त्यही अधिकार किन नपाउने ? भन्ने प्रश्न उठ्यो । कानुनद्वारा यो प्रश्नको सम्बोधन गरियो । नेपाली महिलासँग विवाह भएपछि आफ्नो देशको नागरिकता परित्याग गरी निश्चित समय नेपाल बसेको पुरुषले नेपाली नागरिकता पाउने व्यवस्था गरियो ।

झट्ट हेर्दा महिला पुरुषको समान अधिकारको दृष्टिले यो व्यवस्था गलत थिएन । तर, यो प्रावधानले आगामी दिनमा नेपालले विदेशी जनसंख्याको निकै ठूलो भार व्यहोर्नुपर्ने हुन सक्छ । आमाको नाममा नागरिकता दिने प्रावधानले झन् ठूलो भार व्यहोर्नुपर्ने हुन सक्छ । यसैगरी, नागरिकता प्रमाणपत्रमा नाम, जात वा थरको सट्टा उपनाम राख्न सकिने प्रावधानले भोलिका दिनमा पहिचानको समस्या हुन सक्छ । नागरिकता प्रमाणपत्र भनेको पहिचान पनि हो । तर, पहिचानलाई लुकाउने छुट नागरिकतामै दिइनु भनेको अन्योलता बढाउनु हो ।

‘नेपाली नागरिकता लिएपछि नेपालको सार्वभौमिकताप्रति स्वतः माया भइहाल्छ नि’ भन्ने तर्क पनि कतिपयले नउठाएका होइनन् । तर नेपाली नागरिकता प्राप्त गर्ने अधिकांश भारतीयले त्यस्तो व्यवहार देखाएका छैनन् । उदाहरणका लागि पहिलो र दोस्रो मधेस आन्दोलन नै काफी छन् । जनकपुर सहरमा बसोबास गर्ने पहाडियाको संख्या पहिलो मधेस आन्दोलनअघि कति थियो ? अहिले कति छ ? के उनीहरू रैथाने मधेसीबाट लखेटिएका हुन् त ? किमार्थ होइन । किनकि जनकपुरमा पहाडिया तथा रैथाने मधेसीबीच नङ–मासुको सम्बन्ध विस्तार भइसकेको थियो । पहाडियाहरू विस्थापित भएकोमा अहिले पनि रैथाने मधेसीहरू पछुताइरहेका छन् । मधेसी घनाबस्ती भएका क्षेत्रमा पनि पहाडियाहरूले चुनाव जित्ने गरेका छन् । उदाहरणका लागि जलेश्वर नगरपालिकाको एउटा वडामा पहाडियाको घर एउटा मात्रै छ । उही घरको मान्छेले स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्ष पदमा चुनाव जितेको छ । जनकपुरमा बसोबास गर्ने पहाडियालाई लखेट्ने अभियानमा नेपाली नागरिकता प्राप्त गरेका भारतीय नै थिए भन्ने कुरा यो उदाहरणले पुष्टि गर्दैन र ?

बुहारी र ज्वाइँबीच समान अधिकारलाई प्राथमिकतामा राख्ने कि मुलुकको सार्वभौमिकतालाई प्राथमिकतामा राख्ने ? भन्ने प्रश्नसँग नागरिकताको यो मुद्दा जोडिएको छ । यी दुई विकल्पमध्ये एउटा विकल्प रोज्नै पर्छ । तर नेपाल र भारतबीच पासपोर्ट तथा भिसा प्रणाली लागू गर्ने हो भने बुहारीसरहको अधिकार ज्वाइँलाई दिँदा पनि खासै फरक पर्दैन । नेपाल भारतबीच पासपोर्ट तथा भिसा प्रणाली लागू गर्ने ताकत छ त राज्यसँग ? मूल प्रश्न यही हो । (तरुण खबरबाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.