‘बुस्टर डोज’ खोप फागुन १ गते नेपाल ल्याइने

| 2023 Feb 08 | 01:43 pm 409

काठमाडाैं, माघ २५ः कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ।

सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको बताएको छ। यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीन पटक गरी खोप आउने बताए। उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन। उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताए।

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिंदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो। पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए। गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो।

छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले संक्रमण घटेको छ। अहिले संक्रमण पनि कम हुँदै गएको छ। मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एक जना संक्रमित र तीन जना सक्रिय संक्रमित भेटिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.