सुनसरी, माघ २०: स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको आर्थिक अनियमिततालाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका छन्। अन्नपूर्ण पोस्ट्मा सोमबार ‘बीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा’ शीर्षक समाचार प्रकाशन भएपछि मन्त्री त्रिपाठीले छानबिन प्रक्रिया अगाडि बढाएका छन्।
यसैबीच, मन्त्री त्रिपाठीले प्रतिष्ठानमा भएको अनियमितताबारे उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिस्ट्रार मोहनचन्द्र रेग्मीलाई फोन गरी स्पष्टीकरण सोधेका छन्। उनले नियमविपरीत गरेका क्रियाकलाप तत्काल बन्द गर्नसमेत निर्देशन दिएको प्रतिष्ठान स्रोतले बताएको छ। स्रोतका अनुसार मन्त्री त्रिपाठीले गिरी र रेग्मीलाई लिखित जवाफसमेत मागेका छन्।
प्रतिष्ठानका चिकित्सिक, कर्मचारीले पनि अनियमिततामा आँखा चिम्लिन नहुने माग राखेका छन्। कर्मचारी कल्याण समाजका अध्यक्ष उमेश थापाले प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले अवैध तरिकाले प्रतिष्ठान पदाधिकारीहरूले लिएको सुविधा कटौती गर्न र स्वास्थ्य सेवा सुधार गर्नसमेत माग राखेका छन्।
प्रतिष्ठानको मेडिकल तथा डेन्टल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले प्रतिष्ठानमा सधैँ हुने अनियमितताका घटनाले चिकित्सकको शिर निहुरेको बताए। उनले प्रतिष्ठानलाई धराशयी बनाई अवैध बाटोबाट आर्थिक अनियमितता गर्ने पदाधिकारीलाई बर्खास्त नगरेसम्म प्रतिष्ठानको अवस्था सुधार हुन नसक्ने उल्लेख गरे। अन्नपूर्ण पाेस्ट दैनिकबाट