बिहानीपखै कालो रात भएछ…

रिपोर्ट नेपाल | 2021 Jul 22 | 07:49 am 245

बिहानीपखै कालो रात भएछ
खल्तीमा राखेको ठूलो चन्द्र हराएछ…

झन्डै चार वर्षअघि कोरिएका यी पंक्ति आफैंसँग ‘मेल खाला †’ भन्ने सायदै सोचेका थिए, उत्तम नेपालीले । बुधबार झिसमिसे बिहानी हुँदै थियो, उत्तम अन्तिम सास फेर्दै थिए ।

हुन त, जीवनको यो पहिलो रात हैन
हराएको चन्द्र पनि पहिलो हैन
तर, यसपल्ट हतासिएछु
कहीँ भोलि बिहानको सूर्य पनि
चन्द्रझैं नहराओस् †

आफ्नै कविताका हरफझैं ८४ वर्षीय उत्तम बिहानीपखको चन्द्रझै बुधबार बिहान ४ बजेर ३० मिनेटमा सदाका लागि विलीन भएका छन् । साहित्यिक फाँटसम्मै भिजेका उनीकृत ‘बिना शीर्षकको’ नामक कविता संग्रहसमेत प्रकाशित छ ।

‘म विषयरहित चित्र बनाउन मन पराउँछु, चित्रमा सबैले सबैथोक देख्छ भन्ने छैन,’ उनी बारम्बर भनिरहन्थे, ‘कसैले पटक्कै देख्दैन, कसैले थोरै देख्छ । जति बढी दर्शकले देख्यो, त्यो चित्रको सुन्दरता पनि त्यति नै उजागर हुन्छ ।’

खास नाम ‘उत्तमप्रसाद कर्माचार्य’ भए पनि उनी ‘उत्तम नेपाली’का रूपमा चिनिए । ‘त्यसो किन ?’ भनेर सोध्दा उनको जवाफ हुन्थ्यो, ‘म नेपाली हुँ । थरले कस्तोकस्तो अनुभूत गराउँछ । त्यसैले नेपाली राखेको हुँ ।’

भारत लखनउबाट परम्परागत ‘वाश कला’मा स्नातक नेपाली आधुनिक तथा अमूर्तकलाका अग्रणी उत्तमले शिक्षण अस्पतालको शय्यामा अन्तिम सास लिए । गत आइतबार मात्रै अस्पताल भर्ना भएका उनी श्वासप्रश्वास, मुटुरोग र अल्जाइमर्सपीडित थिए ।

डेढ दशकअघि राजधानीसँको वार्ताक्रममा उनले भनेका थिए, ‘बनाउञ्जेलसम्म चित्र कस्तो बन्दै छ ? त्यसको भेउपत्तै पाइँदैन जब सकिन्छ अनि मात्र चित्रको आकृति, रूपरंग र अवस्थाबारे थाहा हुन्छ ।’

वाङ्मय र रंगफाँटमा समेत दख्खल पालेका उत्तम १९९४ वैशाखमा काठमाडौं किलागलमा जन्मिएका थिए । जहाँ स्वरसम्राट नारायणगोपालको पनि जन्म भएको थियो ।

असनमै जन्मेहुर्केका उत्तमको नसानसामा थियो, कलाभंगी । उनलाई चित्रले मात्रै छोएन । अभिनय पाटोले पनि छोयो । स्थानीय डबलीमा उनी ‘नायकै’ भए । टोलछिमेकमा ‘वाहवाही’ बटुले ।

स्वदेशी माटोमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’मा गायक–संगीतकार शिवशंकरसँग सहकार्यसमेत गरे । त्यसताका श्यामश्वेत फिल्म ‘हिजोआज भोलि’मा पनि उनी देखापरे ।

पछि उनलाई लाग्यो, ‘अब चित्रकलातिरै डोहोरिनुपर्छ ।’ जसबाट नेपाली कलामा ‘अमूर्त र आधुनिक चित्रकला’का अग्रणी अध्येताको जन्म भयो । ‘चित्रकलामा युवा अग्रसरलाई विशेष दिनुपर्छ,’ सभा–समारोहमा उनी जोड दिइरहन्थे, ‘युवापुस्ताबाटै आधुनिक कलाले वृहत्तर आकार धारण गर्छ ।’

दशकौंअघि कलाले जब परम्परागत सीमा पार ग¥यो, त्यही अवस्थाबीच अमूर्तकलाले विश्वव्यापी छलाङ मारेको बुझ्न सकिन्छ । उत्तमलाई छोएको पाटो पनि यही नै थियो ।

२०१८ सालतिर उत्तमले व्यवसायिक चित्रकला अंगाल्दा अवस्था जटिल थियो । तर, उनले त्यो ‘रिस्क’ मोले । आज नेपाली कला फाँट यहाँसम्म पुग्नुमा उनैको योगदान छ ।

आधुनिक नेपाली कला स्थापित गर्न उनी अहोरात्र खटेका थिए । सीमापारिसम्म पुगेका छन्, उनका कला । संयुक्त राष्ट्रसंघ कार्यालय न्युयोर्कमा समेत उत्तमका सिर्जना शोभित छन् ।

‘समयअनुसार मान्छेको रूपरंग बद्लिएझैं कला पनि बद्लिने’ मान्यता राख्ने उत्तम तीनपटक हृदयघाट हुँदासमेत चित्र सिर्जनाबाट विमुख भएनन् । अस्पतालको शøयामा पनि क्यान्भासमा उनको कुची चलिरह्यो ।

‘जीवनमरणसम्म चित्र कोरिरहन्छु,’ उनी भन्थे, ‘अमूर्तलाई कोहीकोही बौलाहा कला पनि भन्छन् । तर, त्यो कला हेर्दाहेर्दा रुचाइएको पाइन्छ, त्यसमा कला देख्न थाल्नु नै आनन्द हो ।’

निजामती सेवापछि रेडियो नेपालसम्म पुगेका उत्तम सूचना विभाग विभागीय प्रमुखपछि त्यहीँबाट अवकाशप्राप्त भए । यसपछि चित्रकलामा उनी दिनरात खटे । जागिर जीवनमा आधा समय दिन्थे, अवकाशपछि पूरै समय दिन थाले, चित्रकलामा ।

अमेरिका रहँदा श्वासप्रश्वासमा समस्या देखियो । स्वदेशी माटोमा मृत्युवरण गर्ने इच्छाअनुसार तीन महिनाअघि उनलाई नेपाल ल्याइएको हो ।

पाँच वर्षअघि अमेरिका रहँदै हृदयाघात भएका उत्तमको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको परिवारमा श्रीमतीसहित छोरा उद्यम र सुुद्यम तथा दुई छोरी ममता र प्रकृति छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.