काठमाडौँ बैशाख १५: भोलिदेखि लागु गरिने निषेधाज्ञाको समयमा विवाहका लागि भने काठमाडौँ प्रसासनले केहि खुकुलो बनाएको छ। अति आबश्यक कार्यका लागि पासको आबश्यकता पर्ने बताइएपनि विवाहका लागि स्वास्थ्यको मापदण्ड अपनाएर चलाईने सवारी साधनका लागि पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेशमा विवाहका पास नचाहिने उल्लेख गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिका अनुसार सवारीमा दुलहा-दुलहीसहित १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ। जारी सूचनामा भनिएको छ,‘विवाह तथा व्रतबन्ध आयोजनाको लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलहीसहितका)हरुले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्ने जनाइएको छ ।
विवाह, व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा चालक सहित बढीमा सातजना सम्मको लागि स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन पेश गर्नुपर्ने जनाइएको छ । मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस)सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ ।
