मकवानपुर, माघ १२: बिरामी बोक्ने एम्बुलेन्सले प्रतिबन्धित लागूऔषध बोकेको भन्दा पत्यार नलाग्न सक्छ । तर, एक सरकारी एम्बुलेन्सले ३० किलो भन्दा माथि गाँजा राखी तस्करी गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्राप्त समाचार अनुसार विशेष सुराकीको आधारमा मकवानपुर प्रहरीले रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको अवस्थामा शनिबार राति गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरिया–४ का १९ वर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ वर्षीय विनोद सहनी रहेको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीनवटा झोलामा ६ पोका बनाइ राखिएको ३० किलो ६ सय ग्राम गाँजा बरामद भएको एसपी राठौरले जानकारी दिए।