काठमाडाैं, जेठ २०ः विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ ।
सरकारले १२ जेठको मन्त्रिपरिषद् निर्णयमार्फत भारतबाट स्वदेश फर्कन चाहनेहरूका लागि २० वटा नाका खुला गरेको छ भने अन्य मुलुकबाट आउन चाहनेहरूका लागि प्राथमिकता तोकेको छ । सरकारले भारतका २० नाकाबाट गरी करिब ५ लाख तथा भारतबाहेकका अन्य मुलुकबाट करिब ४ लाख गरी ९ लाखको हाराहारीमा नेपालीहरू स्वदेश फर्कने अनुमान गरेको हो ।
भारतबाट नेपालीहरू फर्कने क्रम जारी छ । अब करिब ५ लाखको हाराहारीमा भारतबाट र भारतबाहेक अन्य मुलुकबाट ४ लाख गरी करिब ९ लाख नेपाली फर्कने सरकारको अनुमान छ । सेनालाई सोहीअनुसार तयारी गर्न भनिएको छ ।
सरकारले मन्त्रिपरिषद् बैठकबाट विदेशबाट आउनेहरूको व्यवस्थापन र उनीहरूलाई घरसम्म पुर्याउन सेनालाई खटाउने निर्णय गरिसकेको छ । सेनाले नै विमानस्थल र भारतसँगका नाकाबाट भित्रने नागरिकहरूलाई होल्डिङ सेन्टरसम्म लैजानेछ । यस्तै, होल्डिङ सेन्टरबाट विभिन्न प्रक्रिया पूरा गरेर जिल्लासम्म पु-याउनेछ ।
भारतबाहेकका मुलुकबाट आउनेहरूका लागि सरकारले १५ वटा प्राथमिकता तोकेको छ । जसअनुसार सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र नेपाल आउन अनुमति प्राप्त भइसकेका, बर्हिगमन भिसामा परेका, काजकिरियाका लागि फर्कनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य समस्या भएकाहरू स्वदेश फर्कन पाउनेछन् । राजधानी दैनिकबाट