काठमाडौं, माघ २७ : अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलवर्न स्टार्सले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
पहिले ब्याटिङ गर्दै मेलवर्नले दिएको १६९ रनको लक्ष्य पछ्याएको सिड्नी १३.४ ओभरमा सबै विकेट गुमाउँदै ७४ रन सीमित हुँदा ९४ रनले पराजित भएको हो । सिड्नीका लागि डेनियल ह्युजले १२ र टिम कुरानले १० रन बनाउँदा अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट स्पेलमा ३ दशमलव ४ ओभरमा जम्मा ११ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट प्राप्त गरेका थिए । सन्दीपले यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले एक रनआउट गरे भने एक क्याच समेत लिएका थिए । सन्दीपले यो सँगै बिग बास लिगमा ७ खेलमा ११ विकेट लिएका छन् । त्यसैगरी आजको खेलमा मेलवर्नका लागि एडम जाम्पा र डेनियल वेओरेलले दुई दुई विकेट लिएका थिए । भने कप्तान ग्यालेन म्याक्सवेल र ज्याक्सन वर्डले एक विकेट प्राप्त गरे ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मेलवर्नका कप्तान ग्यालेन म्याक्सवेलको आक्रामक पारी खेल्दै सर्वाधिक ८२ रनको अर्धसतकिय पारिको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।
म्याक्सवेलले ४३ बलमा अविजित ८२ रन बनाउँदै सिड्नीलाई राम्रो लक्ष्य दिन सफल भएका थिए । त्यस्तै मेलवर्नका मार्कोस स्टोइनिसले ३४ रन बनाए भने ह्यान्ड्सकबले ३५ रन बनाएका थिए ।
सिड्नीका टिम कुरानले २ विकेट प्राप्त गरेका थिए । बिग बास लिगको सेमिफाइनल अब मेलवर्नले होबर्ट हुरिक्यानसँग फेब्रुअरी १४ मा प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल सिडनी सिक्सर्स र मेलवर्न रेनेगेडजबीच प्रतिस्पर्धा हुने छ ।