भद्रपुर, कचनकवललगायत दक्षिण झापाका गाउँमा पारिकै खेताला धान काटिरहेका भेटिन्छन्, कम्तीमा महिना दिन काम गरेर केही रकम आम्दानी गरेपछि उनीहरु ‘देश’ फर्किन्छन्
झापा, मङ्सिर ३। सीमापारि विहार कटिहारको सिक्रोना गाउँका ७० वर्षीया फारुक हरेक वर्ष धान काट्न रेल चढेर झापा आइपुग्छन् । उही उमेर र एकै गाउँका फुलाइ सहनी पनि उनीसँगै मेची तरेर आउँछन् । फारुकको नेतृत्वमा हरेक वर्ष दर्जनभन्दा बढी भारतीय खेताला धान काट्न झापा आउँछन् ।यस पटक पनि १२ जना खेताला मेचीनगरमा खटिएका छन् । भद्रपुर, कचनकवललगायत दक्षिण झापाका अन्य गाउँमा पनि पारिकै खेताला धान काटिरहेको भेटिन्छ । कम्तीमा महिना दिन काम गरेर केही रकम आम्दानी गरेपछि उनीहरु ‘देश’ फर्किन्छन् । धान काट्नेदेखि बिटा लाउनेसम्म काम उनीहरु गर्छन् । त्यसबापत दैनिक भारु ५ सय रुपैयाँ हाजिरा लिन्छन् । यसपटक यो टोलीले करिब सय बिघा बढीमा फलेका धान काट््ने ठेक्का पाएको छ ।
‘एक महिना जति काम गर्दा एक जनाको भागमा १५/२० हजार भारु बस्छ,’ डफ्फेदार फारुकले सुनाए, ‘यो कमाइले घर खर्च राम्रै चल्छ ।’ देशैभर बाली भित्र्याउने चटारो छ । स्वदेशी जनशक्तिको चरम ‘खडेरी’ बीच झापाका सीमावर्ती गाउँमा भारतीय श्रमिक प्रयोग गरी धान काट्ने काम भइरहेको छ । झापाका पूर्वी र दक्षिण सीमावर्ती क्षेत्रमा बाली भित्र्याउन ‘विहारी खेताला’ प्रयोग भइरहेको पाइएको छ ।
फारुकका अनुसार विहारमा धान भित्र्याइसकेलगत्तै नेपालतिरबाट फोन आउँछ । अनि उनीहरु सातु, चामल बोकेर हुल बाँधिएर नजिकको श्रम गन्तव्य नेपाल छिर्छन् । ‘धान पाकेपछि हामी खबर गरेर उनीहरुलाई बोलाउँछौं,’ लामो समयदेखि धान काट्न भारतीय श्रमिक प्रयोग गर्दै आएकी मेचीनगर–८ कि विनीता खनालले सुनाइन्, ‘उहाँहरुलाई काम लगाउन सजिलो छ । मिहिनेती हुनुहुन्छ ।’ धान काट्न स्वदेशी श्रमिक पाउनै मुस्किल पर्ने र महँगो पनि हुने भएकाले भारतीय श्रमिक प्रयोग गर्ने गरिएको अर्का एक किसानले जनाए ।
राजमार्ग दक्षिणका धेरैजसो गाउँमा भारतीय खेताला भेटिन्छन् । भारत विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दालगायत स्थानबाट हुल बाँधेर श्रमिक आउने र बाली भित्र्याएपछि फर्किने गरेको स्थानीय बताउँछन् ।
कतिपय भारतीय धान काट्न डेरा जमाएरै बसेका छन् । स्थानीयका अनुसार झापाका विभिन्न क्षेत्रमा सयभन्दा बढी बंगाली र बिहारी खेताला बाली भित्र्याउने काममा संलग्न छन् । यस वर्ष भद्रपुर नगरपालिका र आसपासको ५० बिघाभन्दा बढी क्षेत्रको धान काट्ने ठेक्का आफूले पाएको भद्रपुर क्षेत्रमा धान काट्दै गर्दा भेटिएका बिहार कटिहारकै श्रमिक मोहम्मद खान जनाए । धान काट्ने, उठाउने, कुनिउँ लगाउने, थ्रेसर लगाएर घर भित्र्याउनेसम्मको काम गर्दा एक बिघा बराबर ५० हजार जति ज्याला लिने गरेको उनले बताए ।
नेपाली श्रमशक्ति बिदेसिने क्रम बढेपछि कृषि क्षेत्रमा श्रमिकको व्यापक अभाव हुँदै आएको छ, जसका कारण भारतीय श्रमिकको प्रयोग गर्नुपर्ने बाध्यता छ । ‘नेपाली श्रमिक अभावका कारण भारतीय श्रमिक बोलाएर काम लगाउनुपर्ने अवस्था आउनु दुःखद हो,’ स्थानीय सागर शिवाकोटी भन्छन्, ‘यसले नेपाली अर्थतन्त्रमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।’
(कान्तिपुरबाट)