महोत्तरी, भदौ १६: प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताएका छन्।
आज औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उनले बालिकाको हत्यामा संलग्न हुनेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनअनुसार कारबाही गर्न महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई निर्देशन दिए ।
राज्यमन्त्री शर्माले उक्त घटनाको सत्य, तथ्य र निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रदेश सरकार र स्थानीय प्रशासन गम्भीर रहेकाले आन्दोलनको स्वरुप परिवर्तन गरी अपराधी पक्राउ गर्नमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य जैइनुल राइन र जिल्ला समन्वय समितिका अध्यक्ष सुरेश सिंहले घटनाको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन र छिटो भन्दा छिटो अपराधीलाई पक्राउ गरी विधिको शासन स्थापित गराउन स्थानीय प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे।
महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उक्त घटनामा संलग्नहुनेको खोजी कार्यलाई प्रहरीले व्यापक बनाएको हुँदा चाडै नै अपराधी पक्राउ पर्ने विश्वास दिलाए।
मृतकका बाबु सन्तोष चौधरीले छोरीको हत्या गर्ने अपराधी पक्राउ गर्नु नै आफ्नो लागि सबैभन्दा ठूलो उपहार हुने बताए।
गत आइतबार महोत्तरीको औरहीबाट बालिका सोनालीलाई अपहरण गरी हत्या गरेको घटनालाई लिएर स्थानीयले प्रदर्शन गर्दै विगत पाँच दिनदेखि औरही बजार बन्द गराएको छ।