काठमाडौं । बालाजु औद्योगिक क्षेत्रस्थित आधुनिक डेरी प्रोडक्ट र सुलभ डेरीको पाउडर गोदाम न्यूनतम मापदण्ड भित्रको नरहेको भन्दै शील गरिएको छ ।
गुणस्तरहिन दुध र दुधजन्य बस्तुहरुको विक्री वितरण गरेको भेटेपछि कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगमा शील गरेको हो । गुणस्तरहिन दुध र दुधजन्य बस्तुहरुको विक्री वितरण भइरहेको सूचनाका आधारमा मन्त्री खनालले सोमबार बिहान बालाजुस्थित तीन वटै दुध डेरीको उत्पादन केन्द्रको अनुगमन गरेका थिए ।
मन्त्री जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी खाद्य बस्तु उत्पादन गर्नेमाथि खाद्य सम्प्रभुता ऐन अन्तरगत कडा कारवाही गर्ने छ । मन्त्री खनालले डेरीमा प्रयोग गरिएको पाउडर परीक्षण गरेपछि मात्रै गोदाममा लगाइएको शील खोलिने पनि बताए ।
अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुले तीन वटै केन्द्रमा रहेको दुधको ३० वटा स्याम्पल परीक्षणका लागि लगेका छन् । गुणस्तरका नभएमा उनीहरुलाई कारवाही गरिने मन्त्री खनालले चेतावनी दिएका छन् ।
डेरी उद्योगको निरीक्षणकाक्रममा उद्योगभित्र फोहोरमैला र प्रदूषण भेटिएको, डेरीमा प्रयोग गरिने मेसिन फोहोरमुक्त नभएको र डेरी सञ्चालन गर्दा कामदारले पालना गर्नुपर्ने कुनै नियम पालना नगरेको समेत भेटिएको थियो ।