बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका

रिपोर्ट नेपाल | 2021 Mar 31 | 08:36 am 2485

काठमाडौँ, चैत १८ः बाबुआमा दुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने र त्यो पनि नभए संरक्षकत्वविहीन बालबालिकालाई राज्यको जिम्मामा आवासीय बालगृहमा राख्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुुर चन्दले अभिभावकविहीन बालबालिकालाई मात्रै अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था गरिए पनि झन्डै ७७ प्रतिशत बालबालिका आमाबाबु भएका बस्ने गरेको स्वीकार गरे ।

उनले भने, आमाबाबु भएर पनि बालगृहमा बस्ने बालबालिकामध्ये एकथरी गरिब परिवारका छन् भने अर्काथरी दुर्गम ठाउँका आमाबाबुले छोराछोरी सहरमा राम्रो विद्यालय पठाउने प्रलोभन भएको पाइन्छ ।

पछिल्ला केही वर्षदेखि परिषद्ले अति आवश्यक भएका बालबालिकाले मात्र बालगृह बस्नुपर्छ भनेर कतिपय त्यस्ता बालबालिकाको पहिचान गरेर परिवारमै पुनर्स्थापना गराउने काम गर्दै आएको सूचना अधिकारी चन्दले जानकारी दिए ।

उनले कोरोना महामारीमा मात्रै झन्डै चार हजार बालबालिकालाई परिवारमा पुनर्मिलन गराउने काम परिषद्बाट भएको जानकारी दिए । परिषद्का अनुसार हाल देशका ४५ जिल्लामा सञ्चालन गरिएका ४८९ वटा बालगृहमा ११ हजार ३५० बालबालिकाले आश्रय लिइरहेका छन् ।

यहाँ छ हजार १५६ बालिका र पाँच हजार १९४ बालक छन् । यी बालबालिकामध्ये पनि ७८ प्रतिशत बालबालिका बाबुआमा भएको बताइएको छ । परिषद्का सूचना अधिकारी चन्दले सबै बालगृहको अध्ययन नभए पनि परिषद्ले बर्सेनि गरेका अनुगमनबाट २२ प्रतिशत बालबालिकालाई मात्रै बालगृहको आवश्यकता रहेको पाइएको बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.