बालकृष्ण ढुंगेललार्इ आममाफि दिएको भन्दै नेवि संघको विरोध

रिपोर्ट नेपाल | 2018 May 29 | 09:20 am 6614

तस्बीर: दिनेशविक्रम शाह

काठमाडौं, जेठ १५ : सर्वोच्चको आदेशमा हत्या अभियोगमा जेल चलान भएका बालकृष्ण ढुंगेललार्इ सरकारले आममाफि दिएपछि नेविसंघले विरोध जनाएको छ । सरकारले गणतन्‍त्र दिवसको अवसरमा ढुंगेलसहित ८१६ जनालार्इ आममाफि दिएको छ ।

नेविसंघले हत्याजस्तो जघन्य अपराधमा संलग्‍न ढुंगेललार्इ आममाफि दिएर सरकार नांगिएको आरोप लगाएको छ । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सरकारले उनलार्इ जन्मकैदको सजाय सुनाएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ढुंगेलसमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी हुन् ।

सर्वोच्च अदालतले ज्यान सम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका ढुंगेलको बाँकी कैद मिनाहा सम्बन्धी सरकारी निर्णयको सक्कल फाइल माग गरेको थियो । सोमबार न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेलको कैद मिनाहासम्बन्धी निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।

सोमबार सरकारी वकिलले ढुंगेलको कैद मिनाहाको सिफारिस गृह मन्त्रालयसम्म पुगेको जानकारी पाएको बताउँदै के आधारमा माफी दिएको हो आफूले पत्र हेर्न नपाएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.