बारुण यन्त्र कर्मचारीको गोली हानी हत्या

| 2019 Oct 27 | 07:31 am 1516

वीरगन्ज, कात्तिक १०: वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।

वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो। बिहीबार साँझ उनी वीरगन्ज १६ नगवामा रहेको आफ्नो घरबाट निस्किएका थिए। भोलिपल्ट शव भेंटियो। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले चौरसियाको गोली हानेर हत्या भएको जानकारी दिए।

नारायणी अस्पतालमा शवको पोष्टमार्टमपछि गोली लागि हत्या भएको खुलेको हो। त्यसअघि केही ठाउँमा घाउखत लागेको मात्र देखिए पनि पोष्टमार्टममा शरीरमा साना आकारको गोलीको भेटिएको छ। चिकित्सकका अनुसार चौरसियाको टाउकोमा २, छातीमा २ र नाइटोमा १ गरी ५ वटा गोली लागेको छ।

शवको पोष्टमार्टम रिपोर्ट आइ नपुगे पनि गोली हानेरै हत्या भएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक राठौरले बताए। प्रहरीले अनुसन्धानको क्रममा एक दम्पतिलाई शुक्रबार राति नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज ६ माइस्थानका दिपक अग्रवाल र उनकी श्रीमति निधी अग्रवाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। नागरिक न्युज दैनिबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.