वीरगन्ज, कार्तिक १२। सर्वसाधारण नागरिकले दुख कस्टका साथ महानपर्व दशैं मनाएर ऋणको भारि बोकिरहेको अवस्थामा सशस्त्र प्रहरीका हाकिमहरुले भने देशको राजस्व मारेर बारामा संस्थागत तस्करी सुरु गराएका छन्। बाराको बलिरामपुर नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी फस्टाएको भिडियो रेकर्डिङ बाट प्रस्ट देख्न सकिन्छ। बारामा विगत केही दिन देखि बन्द रहेको तस्करी पुन सशस्त्र प्रहरी बल १२ नम्बर गणका हाकिमको इसारामा व्यापक रुपमा तस्करी शुरु भएको छ। बाराको बलिरामपुर,मुशहार्वा,छतवा, बरैनिया नाकाबाट ठुलो मात्रामा लत्ताकपडा , हार्डवेयर, रजनिगंधा, धान, काजु, प्याज, पटका, जुत्ता चप्पल र भैसीको तस्करी व्यापक रुपमा भईरहेको एक भिडियो रेकर्डिङ बाट प्रष्ट भएको हो।
सशस्त्र प्रहरी पर्साका एसपी किशन कर्माचार्य र बाराका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक टोप बहादुर डाङ्गीको इसारामा तस्करी मौलाएको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गणका एसपी डाङ्गिले तस्करहरु संग आफै लाखौ रुपैयाको नजराना बुझेको समाचार स्रोतको दाबी छ । यसरीनै बाराको बलिरामपुर नाकाबाट ठुलो मात्रामा भईरहेको तस्करीका सामानहरु लिएर आउदा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म को केही एरियाहरु पर्ने गरेको छ। बाराबाट भईरहेको तस्करी सघाउनको लागि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्ज भन्सारका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको भागको रकम उनी आफै लिई गणको जिम्मा लिएको स्रोतले जनाएको छ। वीरगन्जको विभिन्न ट्रान्सपोर्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले डर धाक देखाई महिनवारी बुझ्दै आएको नाम नछाप्ने सर्तमा एक ट्रान्सपोर्टका संचालकले बताएका छन। बाराको बलिरामपुरबाट भईरहेको तस्करीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआईजी र आईजिपीको नाममा समेत घुमुवाहरुले रकम असुल्दै आएको बुझिएको छ। यी नाकाहरुबाट तस्करी बढ्दै गएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली समेत प्रभावित हुँदै गएको छ ।
बाराको ग्रामीण भेगबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा तस्करीको लाईन संचालन गर्न तस्करहरुलाई छुट दिएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको हो। सशस्त्र प्रहरीको मिलोमतोमा बाराबाट ठूलो मात्रामा तस्करी सञ्चालनमा आउँदा आफ्ना व्यापार व्यवसाय प्रभावित भएको वीरगन्जका व्यापारीहरु बताउँछन् ।