बादलसहित नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोक्याे

रिपोर्ट नेपाल | 2021 Mar 12 | 05:59 pm 2037

काठमाडौं, फागुन २८ः नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । साविकको अवस्थामा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए । उक्त बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो । तर, बैठकमा माधव नेपाल पक्षधर भने अनुपस्थित थिए ।

बैठकले महाधिवेशनको मितिसमेत तोकेको छ। बैठककाे निर्णय अनुसार ०७८ मंसिर २ देखि ८ मा एमालेको महाधिवेशन गर्ने स्राेतले जानकारी दिएकाे हाे।

स्रोतका अनुसार रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । पूर्वमाओवादी सदस्य रहेका उनी नेकपा विघटनका बाबजुद एमालेमै रहने निर्णयमा पुगेका थिए । माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ ।

एमालेले प्रदेश १ मा सुवास नेम्वाङ र प्रदेश २ मा सत्यनारायण मण्डललाई प्रदेश इन्चार्ज तोकेको छ । यस्तै, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ ।

त्यसैगरी एमाले प्रचारविभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ भने संगठन विभागको प्रमुखमा विष्णु पौडेल, विदेश विभागको प्रमुखमा डा. राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक चैत ७ गते बस्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.