कपिलवस्तु, असार ३ः जिल्लाको बिजयनगर गाउँपालिका १ स्थित मध्यनगरमा अविरल वर्षाको कारण अरुवा खोलामा पानीको बहाव बढ्न गई उक्त खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
गाईवस्तु चराउन गएका उनीहरु उक्त खोलको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।
यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित थारु टोलमा अविरल वर्षाको कारण नारायणी नदिको बहाव बढ्न गई डुवानमा परेका २४ वटा घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरहरुको सामान सुरक्षित स्थानमा सारेको हो ।
काठ बरामद
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ७ गेरुवा जोतस्थित सगुनधारीबाट सशस्त्र प्रहरीले करीव २ लाख २९ हजार रुपैयाँ बराबरको करीव ६५ क्यूफिट सिसौको गोलिया काठ बरामद गरेको छ ।
लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुरमा बुझाईको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ४१ हजार रुपैयाँ बराबरको करीव ८१ क्यूफिट सालको चिरान काठ बरामद गरेको छ ।
लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ११ स्थित छोटी दोभानबाट बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय लक्ष्मीनियामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा औषधी बरामद
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ लाख ७५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय सुथौलीमा बुझाईएको छ ।