बाजुराको प्याज गनाउँने गाउँ

| 2021 Jul 30 | 03:07 pm 393

बाजुरा, साउन १५ः भारतको हरियानाबाट आयात गरिएको प्याज ६० रुपैयाँ प्रति केजीका दरले किनेर काठमाडौंवासीले उपभोग गरिरहेका छन् । बिना प्याज काठमाडौंवासीको तरकारी बन्दैन । यस्तो अवस्थामा बाजुराका किसानले उत्पादन गरेको प्याज भण्डारन अभावले बारीमै कुहिएर गइरहेको छ भन्ने सुन्दा धेरैको मन दुख्ला ।

तर यथार्थ के हो भने ‘गहुँ फल्ने खेतमा प्याज लगाउँदा फाइदा हुन्छ भनेर यस बर्ष बाजुरा स्वामी कार्तिक खापर–१ का किसानले प्याज लगाए । प्याज अचाक्ली फल्यो, घरभित्र राख्ने ठाउँ भएन । प्याजको जाकले गाई गोठसमेत भरियो । नजिकको बजारमा लैजाउ भने गाउँले सबैले प्याज खेती नै गरेका छन् टाढा लैजान बाटो छैन’ स्थानीय हंशबहादुर बिकले पिरलो पोखे ।

बिकले थपे ‘अन्न भए केही भकारीमा राखौं केही खाएर चाँडो सकौं भन्नु, प्याज छाक टार्ने खानाका रुपमा पनि नमिल्ने । गहुँको सट्टा खेतमा प्याज रोपेर फर्साद भयो, अब समयमा बजार लिन नसकिने हो भने डुबिने भएको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आर्थिक वर्ष स्वामी कार्तिक खापर गाउँपालिका–१ बाउँनीलाई प्याजको पकेट क्षेत्रका रुपमा बिकास गर्ने कार्यक्रम आएपछि गाउँलेले प्याज भण्डारण र गाउँमा रहेको १२ हेक्टर जमिनमा प्याज खेती लगाएका थिए । प्याज सोचेभन्दा धेरै उत्पादन भयो, भण्डारण गर्ने ठाउँ भएन । प्याज कुहिएपछि गाउँ पूरै प्याज गनाउने थालेको छ ।

गाउँका एक दुई जनाले होइन, ४० परिवारले प्याज खेती गरेका छन् । ‘अन्न फल्ने खेतभरि प्याज लगाएका थियौं, धेरै फल्यो बजारीकरणको समस्या भएको छ । गाउँमा धेरै प्याज कुहिएको छ । बाँकी रहेको प्याजसमेत कुहिने होकी भन्ने चिन्ता बढेको छ ।’ अर्काै किसान सतल बिकले बताए ।

‘गाउँमा प्याज खेती गरेर आम्दानी हुने अभियान सञ्चालन गरियो । अभियानअनुसार प्याज पनि फल्यो । तर, प्याज बजारमा लैजान नसक्दा कुहिन थालेको छ । लकडाउन अगाडी घरमा राख्ने ठाउँ नभएर स्कुलमा राखेका थियौं, तर स्कुल सञ्चालन हुन थालेपछि कहाँ राख्ने चिन्ता भएको छ’ रमेश बिकले भने ।

‘गाउँमा सबैभन्दा बढी मैले प्याज फलाएको थिएँ, खेतबाट बोकेर घर ल्याउँदा ६० कुइन्टेल प्याज रहेछ । घरमा राख्ने नै ठाउँ भएन । स्कुलमा लगेर केही दिन सुकाइयो, आधाभन्दा बढी सुकाउने ठाउँ नभएपछि कुहिर खेर गयो, पैसा समाउने बेला आफ्नो सम्पत्ति कुहिदा मन सारै रोएको छ । गाउँभरि प्याज कुहिएर गनाउँने भएको छ’ दिपक बिकले गुनासो गरे ।

स्वामीकार्तिक खापर गाउँपालिकाको कृषि शाखा संयोजक नरेशकुमार रोकाले भने ‘प्याजको एउटा दाना एक केजी सम्मको छ । हामीले सोचे भन्दा धेरै प्याज फलेको छ । गाउँमा सुकाउने व्यवस्था नहुँदा सडेर गनाउने भएको छ । हामीले जिल्लालाई खबर गरेका छौं, केही दिनमा समाधान होला ।’

ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले किसानको समस्या बारे भने ‘किसानले सोचे भन्दा बढी प्याज फलाएका छन् । त्यसको ब्यवस्थापनका लागि हामीले ढुवानी प्रबन्ध मिलाई रहेका छौं । बर्षादका कारण बाटो बिग्रेर ल्याउँन सकिएको छैन । अब बाटो खुल्न अगाडी खच्चरबाट समेत ढुवानी गर्ने कि भन्ने योजना बनाइरहेका छौं । किसानको समस्या सम्बोधन गर्ने तयारीमा छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.