बाँके, फागुन १६: तपाईंलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ ।
निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।
निकुञ्जको जलसेनी र परुवाखोलाबीचको जङ्गलपथमै बाघ देखिन्छ । जङ्गलपथमै बाघ देखिएपछि पर्यटकहरु खुशी भएका छन्, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, बाघ हेर्नका लागि धेरै मेहनत गर्नुपर्दैन ।
गाभरबाट प्रवेश गर्ने टोली बाघ हेरेर ओभरी हुँदै निस्कने गरेको गाभर भ्यालीका नेचर गार्ड कलबहादुर चौधरीले बताए ।
बाघ देखिँदा आनन्द महसुस हुने गरेको छ, गाभर भ्याली घरवास (होमस्टे) का सञ्चालक कृष्ण चौधरीले भने, निकुञ्ज छिरेको केहीबेरमै बाघ देखिएपछि पर्यटकहरु खुसी हुन्छन् ।
बाँके राष्ट्रिय निकुञ्जले बर्दिया, सल्यान र दाङको सीमा छोएको छ । निकुञ्जमा आहाराजन्य जनावरको उल्लेख्य वृद्धि र दुर्लभ वन्यजन्तु चौकासमेत रहेको चौधरीले बताए ।
निकुञ्जमा सहजै बाघ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । कैलाश मानसरोवर, रारा, स्वार्गद्वारीसम्म जाने पर्यटक नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्जमा बास बस्ने गरेका पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जको बाघ देखाउन लैजाने वातावरण बनाउन सकेमा यहाँको पर्यटन व्यापार बढ्ने जानकार बताउँछन् ।
यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यहीँ निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए ।
आर्थिक वर्ष २०७५–७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्याङ्कले जनाएको छ । ती मध्ये १ सय ४८ आन्तरिक , ११ सार्क मुलुकका र एक विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए । निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेशविन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्वपश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उनले जानकारी दिए । बाँके निकुञ्ज पर्यटकको ट्रान्जिट हुँदैछ, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, कम खर्च र छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।
पछिल्लो समय बाघको सङ्ख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत मिलाइएको छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरवासका सञ्चालक कृष्ण चौधरी बताउँछन् ।
आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि घरवास र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीन निजी थारू घरवास र १७ घरमा सामुदायिक घरवास सञ्चालित छन् ।
गाभर घरवासले गर्दा पनि निकुञ्जमा पर्यटक बढिरहेका छन् । बिदाको दिन गाभर घरवासमा जाने र निकुञ्ज घुम्नेको सङ्ख्या बढिरहेको छ । निकुञ्जमा आउने पर्यटकलाई नै मध्यनजर गरेर आसपासमा ठूल्ठूला होटल र घरवास बनिरहेका छन् । सरकारले बाघको सङ्ख्या दोब्बर बनाउने रणनीतिअनुसार बाँके निकुञ्जमा सोचेजस्तै प्रगति भइरहेको निकुञ्जले जनाएको छ ।
बाघ संरक्षणको लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा बाघसँगै विश्वमै दुर्लभ मानिएको चौका यहाँ देख्न सकिन्छ । बाघका आहारा प्रजातिको सङ्ख्या उल्लेख्य रहेको छ । निकुञ्जमा सहजै बाघ देख्न सकिने भएपछि पर्यटकको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । पर्यटकको आकर्षण बढाउन बिभिन्न गतिविधि हुँदै आएका छन् ।