साउन १३। बाघ पाइने देशहरूले रूसको सेन्टपिटर्सबर्गको सम्मेलनमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरे। सोही अनुरूप नेपालमा पनि पाटेबाघको संख्या नाघ्यो। तर, देशैभरका निकुञ्ज एवं संरक्षित क्षेत्रहरूमा बाघको संख्या बढेसँगै चुनौतीसमेत थपिएको छ।
केही महिनाअघि बाँके क्षेत्रमा पाटेबाघको छाला बरामद भयो। १५÷१६ वर्षको वयस्क बाघ बाँके वा बर्दिया कहाँको हो यकिन गर्न बर्दिया राष्ट्रिय निकुञ्जले अनुसन्धान सुरु गरेको छ। बर्दियाको बाघसँग पाटा मिल्न सक्ने आशंकामा सुरु गरिएको अनुसन्धान सुर्खेत तेलपानीमा रहेको बाघसँग पाटा मिलेजस्तो अनुमान गरिएको छ। चोरी सिकारीले लोपोन्मुख पाटेबाघ मारेको हुन सक्ने आशंका गरिएको छ।
बाघ संरक्षणका लागि मुख्य चुनौती चोरी सिकारी नै हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले भने, ‘पछिल्लो समय मानव वन्यजन्तुबीच हुने द्वन्द्व पनि चुनौतीको रूपमा थपिएको छ। बाघ जंगलबाट बाहिर निस्किएको अवस्थामा, बिरामी तथा बूढो सिकार गर्न नसक्ने अवस्थाका बाघले द्वन्द्व बढाउने गर्छ।’
गत वर्ष बर्दियामा बाघको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका छन्। निकुञ्जमा प्रति वर्गकिलोमिटर ९० आहारा प्रजाति, पानीको उचित व्यवस्था भए पनि बाघहरू जंगलबाहिर आउन छाड्दैनन्। बाघको बासस्थान सुधार, आहारासँगै जोखिमपूर्ण क्षेत्रहरूमा बलियो बाउन्ड्री लगाउनु पर्छ। अधिकृत भण्डारीले थपे, ‘समुदायमा बाघको आनीबानीसम्बन्धी सचेतना दिन सके दिगो रूपमा द्वन्द्व न्यूनीकरण हुनेमा हामी विश्वस्त छौं।’
भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने अन्तर्राष्ट्रिय जैविकमार्गमा बढी घटना हुने गरेका छन्। निकुञ्जले आक्रामक बाघ २ वटा रम्भापुर रेस्क्यु सेन्टर र एउटा बाघ ठाकुरद्वारा होल्डिङ सेन्टरमा राखेको छ। पछिल्लो समय चितवन १ सय २८, बर्दिया १ सय २५, पर्सा ४१, बाँके ३६ र शुक्ला २५ गरी नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन्।
लोपोन्मुख वन्यजन्तु पाटेबाघले बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र नभई सामुदायिक वनहरूमा समेत बासस्थान बनाएपछि चौतर्फी त्रास बढ्न थालेको छ। वनको क्षेत्राधिकारमा जैविक विविधताको संरक्षण प्रभावकारी भएसँगै मानव–वन्यजन्तुबीच द्वन्द्व मौलाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलगायत मध्यवर्ती बाहिरका सामुदायिक वनहरूमा बाघको संख्या वृद्धि भएको छ।
वन्यजन्तु बढेसँगै मानवीय आक्रमणका घटनामा पनि वृद्धि भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले बताए। आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्म पाँच वर्षको अवधिमा सामुदायिक वनबाट आएका वन्यजन्तुको आक्रमणमा परी १६ जना मानिसमध्ये अधिकांश बाघको आक्रमणमा परी मृत्यु र २७ जना घाइते भएको तथ्यांक छ। (अन्नपुर्णबाट )