बागलुङमा निर्मला पन्तका लागि न्याय माग्दै सडकमै सुते २ सय महिला

| 2018 Dec 02 | 06:45 pm 2438

बागलुङ, मंसिर १६ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषिय बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।

चिसो भूइँमा झण्डै एकघण्टा सुतेका महिलाले निर्मला पन्तको फोटोसहितको व्यानर छातिमा टाँसेका थिए। सबै महिलाले टाउकोमा कालोपट्टीसमेत बाँधेर विरोध गरेका थिए। ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखिएको व्यानर र पोस्टर लिएर उनीहरुले दोषीलाई पक्राउ गर्न माग गरेका थिए।

‘एउटी अबोध बालिकाले न्याय नपाएपछि दवावस्वरुप सडकमै सुतेका हौं’ संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्, ‘दैनिक भइरहेका बलात्कारका दोषीलाई राज्य संयन्त्रले संस्थागत रुपमै उम्काउने प्रयास गरिरहेको छ।’ यस्ता घटनामा राज्य संयन्त्र चुप लाग्नुले दुई तिहाई मतको सरकारको बेइज्जत भएको उनको टिप्पणी थियो।

सडकमै सुत्ने कार्यक्रममा ७० वर्षीयादेखि १५ वर्षीया किशोरीहरु पुगेका थिए। उनीहरुको मागको समर्थनमा कांग्रेससहितका अन्य राजनीतिक दलका नेता, नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारी, कार्यकर्ता, अधिकारकर्मी तथा नेविसंघका कार्यकर्ता सहभागी थिए। उनीहरुको विरोधले सडकको आवागमन अवरुद्ध भएको थियो।

गत साउन १० गते ‘होमवर्क’ गर्न साथीको घर गएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो। घटना भएको चार महिना पुरा भएको छ ,तर अहिले सम्म पनि अपराधीको पहिचान हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.