काठमाडौँ १२ भदौ / बागमती प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिको विगत एक वर्ष देखि विचाराधीन विधेयकमाथि छलफल गर्न आह्वान गरिए अनुसार बुधबार बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बारम्बारको सत्ता समीकरण, सरकार परिवर्तन र बजेटका कारण सो समितिको बैठक तथा विधेयक माथिको छलफल अघि बढ्न सकेको थिएन । प्रदेशसभा सञ्चालनको बखतमा बसेको सो समितिको बैठकले ३० दफा रहेको हस्तकला ग्राम सम्बन्धी विधेयकको ९ वटा दफाको दफावार छलफल गरेको छ । बैठक आह्वान नहुँदा विधेयकको अन्य दफावार छलफल र संशोधन प्रस्तावले गति लिन सकेको छैन ।
समितिको आज बस्ने बैठकले सो विधेयकको दफा छलफल र संशोधन प्रस्ताव टुङ्ग्याउने तयारी गरेको छ । सो विधेयकका विभिन्न दफा उपर ५ सांसदले २० वटा संशोधन दर्ता गरेका छन् ।