बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल | 2026 Nov 28 | 11:59 am 181

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् ।

प्रहरी पोशाकमै सेवाग्राहीसँग रकम लिइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले उनीहरूमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो ।

निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत श्रीषराम थारु र नेपालगञ्जस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत तोपबहादुर खड्का रहेका छन् ।

गत मङ्सिर १० गते ड्युटीमै रहेका उनीहरूले सेवाग्राहीसँग रकम लिएको देखिने भिडियो सार्वजनिक भएको थियो । फेसबुकलगायत सामाजिक सञ्जालमा भिडियो फैलिएपछि प्रहरी कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान थालेको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार दुवै जवानलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को व्यवस्थाबमोजिम मङ्सिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यका आधारमा उनीहरूमाथि थप आवश्यक कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.