बाँकेमा कांग्रेसको आन्दोलन जारी, दोषिलाई कारबाही नगरे आन्दोलन चर्कने चेतावनी

रिपोर्ट नेपाल | 2019 Sep 17 | 04:00 pm 2434

बाँके, भदौ ३१ : नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि कुटपीट गरिएको घटनालाई लिएर आज (मंगलबार) पनि विरोध प्रर्दशन भएको छ ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत दोस्रो चरणको कार्यक्रम चलिरहेको बेला गत बिहीबार नेकपाका कार्यकर्ताले सभापति कोइरालामाथि कुटपिट गरेको थियाे । नेकपा कार्यकर्ताको कुटाइबाट कोइरालाको हात भाँचिएको कांग्रेसले दाबी गर्दै आएको छ।

उक्त घटनालाई लिएर कांग्रेसले शुक्रबारदेखि नै आन्दोलन गर्दै आएको छ । आन्दोलनको चौथो दिन मंगलबार नेपालगन्जको धम्बोजी चोकमा कांग्रेसको भातृसंगठन तरुण दलले टायर बालेर बिरोध जनाएको छ ।

आन्दोलनमा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले सरकारले दोषिमाथि कारबाही नगरे आन्दोलनले अझै चर्को रुप लिने चेतावनी दिए। उनले कांग्रेस सत्तामा नभएपनि असक्षम नभएको दाबी उखानबाट प्रस्ट्याए। ‘बाघ कहिल्यै बुढो हुँदैन र स्याल कहिल्यै तरुनो हुँदैन’, उनले भने, ‘हामी बाघ हौ, होसियार मौरीहरु।’

सोमबार जिल्ला प्रहरी कार्यालयमा एक घन्टा धर्ना बसेर युनियनले विरोध जनाएको थियो भने बुधबार महिला संघले आन्दोलन गर्ने योजना रहेको महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाहले बताए।

केन्द्रीय सदस्य भरतबहादुर न्यौपानेले घटनालाई प्रोत्साहन गर्न बाँके प्रहरी प्रशासन सरकारको पछाडि लागेको आरोप लगाए। मुख्य अभियुक्तको खोजी गरेर कानुनी कारबाही नहुँदासम्म आन्दोलन नरोकिने कांग्रेसका नेताहरुले बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.