बहु बिवाह मुद्दाका फरार अभियुक्त ९ बर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 28 | 08:22 pm 2819

तनहुँ, भदौ १२ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा बहु बिवाह मुद्दामा फरार रहेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका वडा नं. २ स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं. ५ बस्ने ३२ वर्षीया हरीमाया नेपाली रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०६८ असार २८ गतेको फैसलाले १ बर्ष ६ महिना कैद र १५ हजार जरिवाना सजाय सुनाएको थियो ।

उक्त फैसला पश्चात् फरार भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेकी थिइन् ।

खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ ११ गते दिउँसो घरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ गरी उनीलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको तनहुँ प्रहरीले जनाएको छ ।

त्यसैगरी सार्वजनिक मुद्दामा फरार अभियुक्तलाई ५ बर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. १३ बेलभञ्ज्याङ बस्ने ३० वर्षीय प्रेम बहादुर आले रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७२ चैत १६ गतेको फैसलाले ५ हजार जरिवाना भएकोमा फरार भई उक्त जरिवाना तिर्न बाँकी रहेको थियो ।

उनको खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ १२ गते दिउँसो घरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा तोकिएको जरिवाना भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.