काठमाडाैं, जेठ २९ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाणले गण्डकी प्रदेशमा बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि मुख्यमन्त्री नियुक्त नगर्नु प्रदेश प्रमुखको गैरजिम्मेवारी र अपरिपक्वता भएको टिप्पणी गरेका छन् ।
उनले प्रदेश प्रमुख सीता पौडेलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिमा गरेको ढिलाईप्रति आपत्ति जनाएका हुन् ।
‘गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन सक्नुभएन’, विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक रहेका कांग्रेस नेता खाणले प्रश्न गरे, ‘मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखबाट आह्वान भइसकेपछि विपक्षी गठबन्धनले तत्कालै बहुमत सांसदको हस्ताक्षर बुझाएको छ । स–शरिर सांसद उपस्थित हुँदा पनि किन मुख्यमन्त्री नियुक्तिमा बिलम्ब भएको हो ?’
‘कांग्रेसलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी नेपाल, स्वतन्त्र सांसद राजिव गुरुङ ‘दीपक मनाङे’सहित ३१ जनाको समर्थन छ ।
‘एउटा मुख्यमन्त्री पदमा बहुमत पुर्याएर दाबी गर्ने हो । ६० जना प्रदेश सभाका सदस्य हुन्’, नेता खाणले भने , ‘६० जनामा सभामुख बाहेक ५९ जना सांसद छन् । ५९ मा ३१ जना सांसद भनेको स्पष्ट बहुमत हो । बहुमत भएपछि प्रदेश प्रमुखले नियुक्ति गरिसक्नु पर्ने थियो । स्पष्ट रुपमा दाबी प्रस्तत गरिसक्दा पनि नियुक्ति नगरेर नियुक्तिलाई विलम्ब गर्नुपनि अपरिपक्व हो ।’