काठमाडौं, जेठ २३: बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले मुलुकको शासन व्यवस्था नै परिवर्तन गर्नेगरी तयारी अघि बढाएको छ । संघिय समाजवादी फोरम सरकारमा समावेश भएसँगै नेपाल संसदमा स्पष्ट संविधान संसोधनका लागि आवश्यक बहुमत पुग्छ ।
मंगलबार पोखरामा एक कार्यक्रमलार्इ सम्बोधन गर्दै दाहालले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने तयारी भएको अभिव्यक्ति दिए । दाहाल यस अभिव्यक्तिमा बहुमतको अह्म र राष्ट्रपति बन्ने तिष्णा झल्किन्थ्यो । उनले राष्ट्रपतीय प्रणाली पक्षधर सबै शक्तिहरु सरकारमा रहेकोले आउँदो चुनाव अगाडि नै संविधान संशोधनमार्फत राष्ट्रपतीय प्रणाली घोषणा गर्ने बताए।
उनले सरकारलाई दुई तिहाई मत प्राप्तभएसँगै विगतमा भएका राजनीतिक सहमतिअनुसार संविधान संशोधनको बाटो खुलेको उल्लेख गरे। उनले भने, ‘अब बिगतमा भएको सहमतिअनुसार संविधान संशोधन गर्छौं, संशोधनको बाटो दुई तिहाइ मतले खुलाइदिएको छ ।’
मुख्य प्रतिपक्षी नेपाली कांग्रेस लगायतका अन्य साना दलहरुले भने दाहालको यस अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बहुमतको आडमा मुलुकको शासन प्रणाल नै उल्ट्याउन खोज्नु राष्ट्रघाती कदम हुने आरोप उनीहरुको छ । उनीहरुले नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीले देशलाई तानाशाही व्यवस्थातिर लैजाने उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसले बहुमतको आडमा संविधान मर्मविपरित कार्य नगर्न सरकारलार्इ आग्रह गरेको छ । प्रत्यक्ष राष्ट्रपति प्रणाली ल्याउनु खोज्नु नेपाली जनताको हित विपरित हुने भन्दै कांग्रेसले कम्युनिष्ट यो गलत कदममा सफल हुन नदिने उल्लेख गरेको छ ।
नेकपा (मसाल) महामन्त्री मोहन विक्रम सिंहले एक विज्ञप्ति जारी गर्दै प्रत्यक्ष राष्ट्रपति प्रणालीको पक्षमा दुई–तिहाई बहुमत जुटाउने उद्देश्य पूरा गर्न, फोरमका संविधानमा राष्ट्रघाती प्रकारका संशोधनहरु पारित गराउने कुनै आन्तरिक समझदारी ता बनेको छैन ? त्यसो गरिएको भए त्यो गम्भीर राष्ट्रघातको कार्य हुनेछ ।’
नेपालमा प्रजातान्त्रिक प्रणालीको कम विकास भएकाले र राजनीतिक पार्टीहरुमा पनि प्रजातान्त्रिक संस्कारको अत्यन्त कम विकास भएकाले देशमा प्रत्यक्ष राष्ट्रपति प्रणाली कायम भएमा त्यसको परिणाम देश तानाशाही व्यवस्थातिर जाने निश्चित रहेको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।