नवलपरासी, असोज १३ : जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती–१६ मा आज शनिबार बिहान साढे ३ बजे बस र ट्रक एकापसमा ठोक्किँदा दुईको जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी ३२ जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । ना ७ ख ५६२९ नंम्बरको बस नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको र ना ६ ख ७७१९ नंम्बरको विपरीत दिशाबाट जाँदै गरेको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी बसचालक बाँके कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र अर्का कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ को कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन्।