बसाइँसरी आउनेलाई निःशुल्क स्वास्थ्य बिमा

रिपोर्ट नेपाल | 2023 Mar 16 | 07:58 am 233

इलाम, चैत २ः पहाडमा दुःख भयो भन्दै तराईमा बसाइँ सर्ने क्रम बढेपछि इलाम नगरपालिकाले नयाँ योजना ल्याएको छ । नगरपालिकाले अन्यत्रबाट बसाइँ सरेर आफ्नो पालिकामा आउनेलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाअन्तर्गत वडा कार्यालयमा एक कार्यक्रम गरी अन्य पालिकाबाट बसाइँसरी आउन प्रोत्साहन होस् भन्ने उद्देश्यले आउनेहरूलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ । नगरपालिकाको नीति तथा कार्यक्रमबाटै बसाइँसराइ गरी आउनेहरूलाई सम्मान गर्ने उल्लेख छ । जसअन्तर्गत वडा नं ४ ले आफ्नो वडामा आएका ११ जनालाई सम्मान गरेको छ । नगरप्रमुख केदार थापाले माला, ढाका टोपी र सम्मानपत्रले सम्मान गरेका थिए ।

इलामका अन्य पालिका र विभिन्न जिल्लाबाट बसाइँसरी आएका व्यक्तिलाई सम्मानका साथै निःशुल्क स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए । बसाइँसरी आउनेहरूमा सन्दकपुर गाउँपालिका, सूर्योदय नगरपालिकालगायत अन्य ठाउँबाट पनि आएर बसोबास गरेका छन् ।

वडा कार्यालयले आफ्नो वडामा बसोबास गरेका ४३ जना कृषकलाई १२ जातको तरकारीको बिउ वितरण गरेको छ । वडालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले तरकारी खेतीसम्बन्धी दुईदिने तालिमसमेत सञ्चालन गरेको थियो । तालिमपश्चात् किसानलाई प्लास्टिक टनेल, गाडेन पाइप, कुट्टो र ५ सय कृषकलाई बिउ वितरण गरेको वडाध्यक्ष दुलालले बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.