बलात्‍कार रोक्‍न पुरुष मानसिकतामै परिवर्तन आवश्‍यक : अनुराधा कोइराला

रिपोर्ट नेपाल | 2018 Oct 04 | 07:45 am 4106

काठमाडौं, असोज १८: प्रदेश प्रमुख तथा वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले धेरै निर्मला कान्डहरू रहस्यको गर्भमा रहेको बताएकी छिन्।

ट्रिटन इन्टरनेसनल कलेजले आयोजना गरेको तीन दिने सोसियल वर्क मेलाको उद्घाटनका क्रममा कोइरालाले भनिन्, ‘अहिले एउटा निर्मला कान्ड बाहिर आएको छ। तर यस्ता धेरै निर्मला कान्ड हाम्रो समाज भएका छन्, जो रहस्यको गर्भमा छन्।’ बलात्कार रोक्‍नका लागि पुरुष मानसिकतामै परिवर्तन आउनुपर्ने उनको भनाइ छ।

कोइरालाले बलात्कारविरुद्धको अभियानमा सिंगो समाज र राष्ट्र नै जाग्‍नुपर्ने बताइन् । उनले भनिन्, ‘हामीले छोरीलाई जोगाउने चिन्ता मात्रै गरेर हुँदैन। हाम्रा हामीले घरघरमा छोराहरुलाई बलात्कार नगर भनेर सम्झाउनुपर्‍यो।’ उनले बलात्कारजस्तो जघन्य अपराधमा राज्यको शून्य सहनशिलता हुने बताइन्।

कोइरालाले ट्रिटन इन्टरनेसनल कलेजले सामाजिक अभियानको आयोजनामा जारी ‘सोसल वर्क मेला’लाई बुधबार सम्बोधन गर्दै आफू पनि लैंगिक भेदभावको मानसिकतामा रहेको बताइन्। ‘यस्ता घटनामा छोरी मान्छे मात्र होइन, पुरुष पनि उत्तिकै सजग हुन जरुरी छ,’ उनले भनिन्।

कोइरालाले सामाजिक अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कलेजले आयोजना गरेको मेला प्रशंसनीय काम भएको बताउँदै भनिन्, ‘सामाजिक मुद्दाहरुमा सोसियल वर्क अध्ययनरत विद्यार्थीको यो सक्रियताले समाजिक जागरणमा सहयोग पुग्छ।’

कलेजका प्रिन्सिपल डा बिहारी बिनोद पोखरेलले बलात्कारको शिकार भएका महिलाहरूको न्याय तथा सशक्तीकरणका लागि सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।

कलेजका अध्यक्ष तथा डिभी ग्रुप अफ कम्पनीजका संस्थापक विश्वनाथ प्रसाद शाहले सामाजिक मुद्दामा विद्यार्थीको यो सक्रियता प्रशंसनीय रहेको र यस्ता सामाजिक अभियानमा कलेज व्यवस्थापनले सधै सहयोग गर्ने बताए ।

कार्यक्रममा बलात्कारविरुद्ध जनचेतना फैलाउने नृत्य, कविता र नाटक प्रस्तुत गरिएको थियो। ट्रिटन कलेजमा आयोजित मेलामा विभिन्न कलेजमा सोसियल वर्क अध्ययन गरिरहेका विद्यार्थी, शिक्षक, स्थानीय समुदाय, सामाजिक संघ संस्थाहरुको सहभागिता छ।

बलात्कारको सिकार भएका महिलाहरुको शसक्तीकरणका लागि सहयोग गर्ने उद्देश्यले आयोजित यो मेलामा वर्कसप, फुड स्टल, नृत्य, नाटक, गीतलगायतक विविध रचनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् ।

मेलामा माइती नेपाल, रेडक्रस, सोच, क्रियशनलगायतका सामाजिक संस्थाहरुको जानकारीमूलक स्टलहरु राखिएका छन्। मेलामा खानासँगै रमाइलोका लागि इन्डोर गेम, फनका विभिन्न आइटमहरु पनि समावेश गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.