काठमाडौ, माघ २०: बलात्कार अभियोग लागेको एक अभियुक्तलाई विदेश भाग्न लागेको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेत रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार पक्राउ गरेको हो ।
८ महिनाअघि उनले गजुरीकै स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । त्यतिबेला स्काभेटर चालकको रुपमा कार्यरत उनी उक्त घटनापछि फरार रहँदै आएका थिए ।
ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार गत जेठ १४ गते बस्नेतले घरको कोठामा सुतिरहेको युवतीमाथि बलात्कार गरेका थिए । कोठाको ढोका फुटाएर भित्र पसी मुख समेत थुनेर बोल्न नदिइ उनले बलात्कार गरेको अभियोग लागेका थिए ।
फरार रहेका उनी भारतको विभिन्न क्षेत्रमा लुकीछिपी बसेको र पछिल्लो समय त्यहाँबाट फर्किएर वैदेशिक रोजगारीको नाममा कुवेततर्फ जान लागेको बताइएको छ ।
ब्यूरोले उनलाई नियन्त्रणपछि सोमबार नै जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको बुझिएको छ ।