बलात्कारी जोगाउन सांसदको घरमा पञ्‍चायती

रिपोर्ट नेपाल | 2018 Sep 13 | 08:09 am 1941

रौतहट, भदौ २८: बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेशसभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ। पीडितलाई प्रहरीकहाँ आउन नदिई घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो। पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो।

रौतहटको गम्हरियाकी १२ वर्षीयालाई बलात्कार आरोपमा प्रहरीले स्थानीय ५० वर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइएको छ । भदौ २० गते घरमा कोही नभएका बेला अन्सारीले बालिकालाई बलात्कार गरेका थिए। ‘घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु) ले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे,’ बालिकाकी आमाले भनिन्, ‘हामीसित पनि बयान लिने काम भयो। पछि सुनें, पैसा दिने निर्णय भएछ । अस्वीकार गरेर प्रहरीसमक्ष न्यायका लागि आयौं।’

पञ्चायतीमा घटना ढाकछोप गर्न अन्सारीलाई १ लाख २० हजार क्षतिपूर्ति तिराउने निर्णय भएको पीडितको भनाइ छ। पीडितका भिनाजु अजुल मियाँले विधायक अब्दुललगायत गाउँका केही व्यक्तिले मिलाउन खोजेको जनाए। ‘छलफलका क्रममा प्रहरीले जस्तै एक/एक गरी पीडितसित सोधियो,’ उनले भने, ‘१ लाख ७० हजार पीडितलाई दिने भन्ने सुनेको हुँ।’ पीडितका आमा पैसा नलिने बताउँदै मलाहीस्थित प्रहरी कार्यालय गएकी थिइन्। सांसद अब्दुलले बलात्कारको घटनामा ढाकछोप गर्ने कुनै काम नगरेको बताए।

‘घटनामा संलग्नलाई छुटाउने मेरो मनसाय होइन,’ उनले भने, ‘गाउँकै ग्यासुद्धिनलगायत केहीले उल्टै केही महिलामाथि दुव्र्यवहार गरेकाले जाहेरी दिन जाने क्रममा प्रहरीले दमन गरेको हो ।’ उनले पीडितहरू पञ्चायती गरिदिनुस् भनेर आफूकहाँ आएको स्विकारेको कान्तिपुर दैनिकमा समाचार छ।

‘घटनाबारे कसैलाई जानकारी नगराएको र कुनै निष्कर्षमा पुग्न नसकेपछि पीडितहरू विपक्षीको शरणमा गएका हुन्,’ उनले भने, ‘बलात्कारमा संलग्नलाई कारबाही नगर्नुस् भन्ने होइन। तर त्यही समूहका मानिसले अन्य महिलालाई पनि दुव्र्यवहार गरेको छ। त्यसको पनि न्याय हुनुपर्‍यो।’ उनले पैसा तिराउने कुनै निर्णय नभएको सुनाए। उनी क्षेत्र नं ४ बाट प्रदेशसभा सदस्य पदमा स्वतन्त्रबाट विजयी भएका थिए। पछि संघीय समाजवादी फोरम प्रवेश गरेका छन्।

पीडितको बयान र घटनाको मुचुल्का आधारमा घटनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले जघन्य प्रकृतिका अपराधमा संलग्न जोकोहीलाई नछाड्ने बताए । उनले बालिका बलात्कार घटना ढाकछोप गर्न पीडितलाई गाउँमै अल्झाउने काम भएको सुन्नमा आएको र त्यो अत्यन्तै दु:खद भएको बताए। मुद्दा दर्तापछि पीडक पक्षबाट विभिन्न खाले धम्की आउन थालेको पीडितकी आमाले प्रहरीसमक्ष गुनासो गरिन्।

प्रहरी कार्यालय घेराउ

पक्राउ परेका अन्सारी निर्दोष भएको दाबी गर्दै मंगलबार एक समूह प्रहरी कार्यालय घेराउ गर्न पुग्यो। उनीहरूले इलाका प्रहरी अगाडि ढुंगामुढा गरेपछि झडप भएको थियो । गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले केही मानिस गेटमा आएर ढुंगामुढा गर्न थालेपछि सामान्य बल प्रयोग गर्नुपरेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.