महोत्तरी, भदौ १ः गृह मन्त्रालयले मिटर व्याजीलाई कारबाही गर्न दिएको निर्देशनलाई २ नम्बर प्रदेशका डिआइजी मसउद आलम खाँ र इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रबी रावलले धोती लगाइदिएका छन् ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार इलाका प्रहरी कार्यालय बर्दिवासमा भारतको सितामणीमा ठूलो कपडा पसल गर्ने संजय साह रौनियारले मिटर व्याज लिएको उजुरी गरेपछि उनलाई पक्राउ गरिएको थियो ।
झण्डै २५–३० जनाले दिएको ठगीको उजुरीलाई मुद्दा फाँटका कार्की थर भएका सईको सेटिङमा प्रदेश प्रमुख खाँको निर्देशन र डिएसपी रबी रावलको मिलेमताेमा सार्वजनीक मुद्दा चलाइएको थियो ।
मोटो रकमको डिलमा मिटर व्याजी संजय साह रौनियारलाई हिरासतमा नराखी सिनियर अधिकृतको रुममा ज्वाइलाई जस्तै राखिएको थियो ।
सार्वजनिक अपराधमा राखिएका रौनियारलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार धरौटीमा छाडिदिएको थियो । सर्लाहीमा समेत एक जनाले मिटर व्याजी लिई ठगी गरेको उजुरी गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठगी गरेको अभियोगमा थुनामा राखेको छ ।
बर्दिवास प्रहरीमा २५–३० जनाको ठगी मुद्दालाई सार्वजनिक मुद्दा चलाइयो भने सर्लाहीमा एक जनाकै उजुरीमा ठगी मुद्दा चलेपछि रौनियारका मान्छेले करोडौं रुपैया पनि गयो आफ्नो मान्छे पनि थुनामा परेको भन्दै गुनासो गर्दै हिडेका छन् ।
रौनियारलाई कसरी छुटाउन सकिन्छ भनेर उनका मान्छे काठमाडौंका शक्ति केन्द्रमा धाइरहेको बुझिएको छ ।