काठमाडौं, २८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राजनीति दल नभएकाले वार्ता आवश्यक नभएको बताएका छन् ।
उनले विप्लवका सबै क्रियाकलाप राजनीतिक नभएकाले वार्ताको औचित्य नहुने बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले कतिपयले वार्ता गर्नुपर्यो भन्ने गरेको जानकारी गराउँदै भने, जहाँ–जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहिं बम हान्नेसँग के का वार्ता ? उनीहरुलाई कानून अनुसार नियन्त्रणमा लिइन्छ ।’
बम आक्रमणबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै वैदेशिक रोजगार व्यवसायीको टोली उनले बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन नसक्ने बताए ।
फागुन २४ गते वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा ध्यानाकर्षण गराउन आएको व्यवसायीको टोलीसँग प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवको नाम नलिई एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए ।
‘कम्युनिष्टले त युवाहरुलाई कर्मशील हुन, सही बाटोमा हिंडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो’ उनले थपे, ‘यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’
प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिष्फोटको घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् ।