बन्यो विमानस्थल आएन जहाज

रिपोर्ट नेपाल | 2022 Aug 30 | 07:34 am 1445

गुल्मी, भदौ १४ः गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन ।

३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न गरिएको यो विमानस्थलमा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका छन् । स्थानीय बासिन्दा भने कहिले जहाज आउँछ भनेर प्रतीक्षा गरेर बसेका छन् । सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थल घुम्न आउने बढेका छन् ।

यो विमानस्थलको धावन मार्ग कालोपत्रे गरेर रङरोगनले चिटिक्क बनेको छ । विमानस्थल अवलोकनका लागि जिल्ला र बाहिरबाट समेत दैनिक सयौँ व्यक्ति पुग्छन् । विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले सो विमानस्थल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ ।

विमानस्थल धावन मार्गको ५२० मिटर लम्बाइ र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा विमानस्थल छ । विमानस्थल निर्माणका लागि मुआब्जा दिने गरी १४ घरबस्ती विस्थापित र २८ घरपरिवारको जग्गा अधिग्रहण गरिएको छ ।

उडान गर्न अनिच्छुक विमान कम्पनी

यो विमानस्थलमा २०७५ साल जेठ २५ गते तारा एयरले सफल परीक्षण उडान गरेको थियो तर अहिलेसम्म व्यावसयिक उडान हुन सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजको सङ्ख्या नै कम भएका कारण नियमित उडान गर्न नसकिएको बताए। निजी विमान सेवा कम्पनीले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उनको भनाइ छ ।

यो वर्ष रेसुङ्गा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उनले निजी कम्पनीसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिए ।

सुरक्षा र संरक्षण चुनौतीपूर्ण

विमानस्थलको संरक्षण हुन नसक्दा कन्ट्रोल टावरको सिसा फुटिसकेको छ । करोडौँ खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति हुन थालेको छ । विमानस्थलजस्तो संवेदनशील ठाउँमा निर्माणदेखि नै सुरक्षा हुनुपर्ने भए पनि बनेका संरचना तोडफोड हुँदासम्म राज्यको ध्यान नपुग्नु विडम्बना भएको स्थानीयवासीको गुनासो छ ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि २०७६ चैत ४ गते चार करोड पाँच लाख २९ हजार रुपियाँमा ठेक्का सम्झौता भएको हो । निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताए ।

गत असारमै विमानस्थल आयोजनाका कर्मचारी फिर्ता भइसकेका छन् । आयोजनाले विमानस्थलमा नियमित उडान नहुने बेलासम्म संरक्षणका लागि वडा कार्यालय, रेसुङ्गा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । रेसुङ्गा नगरपालिकाबाट एक नगर प्रहरी विमानस्थलमा खटाइएको १० दिनपछि आफूहरू फर्किएको आयोजनाका इन्जिनियर दिनेश परियारले बताए । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विमानस्थलको सुरक्षा गर्नु सबैको दायित्व भएको बताए ।गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.