लागोस, नाइजेरिया, १७ जेठ : गत हप्तादेखि हिंसा झनै मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन ।
त्यहाँ लुटेराहरुको एक हतियारधारी समूहले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ११ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् । जाम्फरा राज्यमा हिंसाको क्रम नरोकिएको र ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेहरूको सम्पत्ति समेत लुटेर लगेको बताइएको छ ।
स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए । आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थलको अवस्था सामान्य बन्दै गएको उक्त राज्यका प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले बताए ।
सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दाेष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिए । रासस/एएफपी