पर्सा, असार १४ः बन्दाबन्दी खुकुलो गरिएसँगै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट सामान नछुट्दा बन्दरगाहमा चाप बढेको छ । एक हजार ५ सय ४२ कन्टेनर राख्ने क्षमता रहेको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर कन्टेनर थन्किएका छन् ।
बन्दाबन्दीको समयमा कन्टेनर क्षमताभन्दा करिब चार गुणा बढी पुगेकोमा बन्दाबन्दी खुकुलो भएपछि आधा घटेका हुन् तर गन्तव्यसम्म पुग्न नपाई थन्किएका कन्टेनर अहिले पनि क्षमताभन्दा दोब्बर रहेका छन् ।
सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारका अनुसार एक हजार ५ सय ४२ टीयूई कन्टेनर राख्न सक्ने क्षमता रहेको बन्दरगाहमा तीन हजार ४ सय ३३ कन्टेनर थन्किएका छन् ।
उनले दैनिक दुई र्याक अर्थात् करिब १ सय ८० कन्टेनर आइरहेका तर बन्दरगाहबाट जानुपर्ने सङ्ख्यामा कन्टेनर नगएकाले भन्सार क्षेत्रमा थन्किएको बताए। गोरखापत्र दैनिकबाट