बन्चरेमा फेरि अवरोध

| 2022 May 27 | 08:07 am 181

काठमाडौं, जेठ १३ः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।

बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए ।

स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा फोहोर ल्याएको भन्दै लगातार अवरोध गरिरहेका छन् । सरकारले हरेक दिन करिब ३ सयको संख्यामा प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिरहेको छ ।‘सुरक्षाको घेराभित्र कतिदिन फोहोर व्यवस्थापन गर्ने हामीले पनि हेर्दैछौं’ – स्थानीय श्रीराम ढुंगानाले भने । उनले भने– तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र यही फागुन २६ गते मन्त्री परिषद्को निर्णयबाट भएका माग सम्बोधन नभएसम्म फोहोर व्यवस्थापन हुन दिँदैनाैं ।

उनका अनुसार गुठीको नाममा रहेको जग्गा रैकर गर्नुपर्ने करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्न प्रशोधन उद्योग स्थापना गर्नुपर्ने र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने अडान रहेको छ । स्थानीय ढुंगानालगायतको टोलीले बिहीबार शहरी विकास मन्त्रालयका सचिव रमेश सिहसँग कुराकानी गरी तत्काल जनताको माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका थिए । स्थानीयसँग भएको कुराकानीको बारेमा जानकारी गराउँदै सचिव सिंहले भने– स्थानीयको माग पूरा गरेका छाैं ।

सरकारले गरेको निर्णयअनुसार बन्चरेडाडा ल्यान्डफिल साइटमै फोहोर बिर्सन हुनेछ । उनले मन्त्रालय स्थानीयको माग सम्बोधन गर्ने विषयमा सकारात्मक रहेको बताए । सरकारले ल्यान्डफिल साइट निर्माण शुरु गरेको १८ वर्षपछि बल्ल फोहोर विसर्जन गर्न शुरू गरेको थियो । शुरू भएकै दिन स्थानीयले अवरोध गरेका थिए ।

२०६२ सालमा ३ वर्षभित्र पूर्वाधार तयार गरी त्यसको नीन वर्षभित्र अर्थात् २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य थियो । सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटको जग्गा अधिग्रहण गरेपछि सो क्षेत्रमा पूर्वाधार निर्माण गर्न करिब एक अर्ब रुपियाँ लगानी गरिसकिएको छ ।

अधिग्रहण भएका जग्गाको मुआब्जा बाँड्न, हिमपाइप हाल्न, वृक्षरोपण गर्न, पुल बनाउन उक्त रकम खर्च भएको थियो । त्यसको करिब डेढ दशक बढी भइसक्दा पनि बन्चरे ल्यान्डफिल साइट तयार हुन सकेको थिएन । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.