बझाङ, जेठ २४: बझाङमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका-१ का ३५ वर्षिय लालबहादुर भण्डारीको मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि छविसपाथीभेरा गाउँपालिका-४ डाँडागाउँका ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी श्रीमती ३८ वर्षीया जलादेवी सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो। घटनामा ६ जना घाइते भएका थिए। घाइतेमध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेमा छविसपाथिभरा गाउँपालिका-५ का ४५ वर्षीया सोभान धामी र सोही गाउँपालिका ३ का ३१ वर्षीय गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ।
यस्तै अन्य घाइतेमध्ये मृतक वीरेन्द्र सिहंका २ वर्षीया छोरा भूपेन्द्र सिहं, छविसपाथीभेरा-३ की २७ वर्षीया पशुपति नेपाली र गणेश नेपालीकी ७ महिनाकी छोरी मुस्कान नेपालीको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।
बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविस पाथीभेरा गाउँपालिका-४ को नेटाखानमा दुर्घटना भएको थियो।